नेपालगञ्ज : पश्चिम नेपालका विशेषगरी थारु समुदायमा जन स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियानलाई बाँकेमा तीव्र पारिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका थारु जनसङ्ख्या बढी भएका स्थानीय तहका वडाहरूमा रगत जाँच शिविर तथा परामर्श सेवा सञ्चालन गरेर बिरामी र वाहक पत्ता लगाउने तथा उनीहरूलाई परामर्श दिने अभियान चलाइरहेको छ ।
सोही क्रममा उक्त कार्यकालद्वारा जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ र ६ मा सिकलसेल एनिमियाका बिरामीहरूको रिपोर्ट वितरण तथा परामर्श कार्यक्रम आयोजना गरिएको हो । ती दुवै वडामा फेला परेका बिरामी, वाहक र उनका अभिभावकलाई भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ फिजिसियन डा. राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वली, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ लगायतको टोलीले रोग र सो बाट जोगिनका लागि परामर्श दिएका छन् ।
वरिष्ठ फिजिसियन डा. पाण्डेले यो रोगबाट जोगिन विवाह गर्दा विशेष ध्यान दिनुपर्ने जनाउँदै रगत जाँच गरेर मात्रै विवाह गर्ने तथा रोगी र रोगीविच विवाह गर्न नहुने बताए । उनले गत जाँचपछि प्राप्त रिपोर्ट र सोही आधारमा वितरण गरिएको कार्ड हेरेर मात्र विवाह गर्ने प्रचलन समुदायमा सुरु गर्नुपर्ने बताए । सो अवसरमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पालिकामा यो रोग बढ्न नदिन सबै उपाय अपनाइने जनाउँदै बिरामीको निःशुल्क स्वास्थ्य बीमा गरिने बताए ।
राप्तीसोनारी गाउँपालिका–२ कचनापुर स्वास्थ्य चौकी र वडा नम्बर ६ कमैयाडाँडा स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा वरिष्ठ फिजिसियन डा. पाण्डे, स्वास्थ्य कार्यालयका अधिकृतहरू नरेशबाबु श्रेष्ठ, रोशनी पुन, जनकराज गिरी, लेखा अधिकृत धन बहादुर चन्द र प्रशासन शाखाका रामकृष्ण चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेल, राप्तीसोनारी स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसी लगायतले चेतनामूलक परामर्श दिएका थिए ।
स्वास्थ्य कार्यालयका अधिकृत श्रेष्ठले राप्तीसोनारीका थारु बाहुल्य चार वटा वडामा करिब ३ हजार तीन सय १३ जनाको रगत जाँच गर्दा ११ जना सिकलसेलका बिरामी र तीन सय ७६ जना रोगका वाहक फेला परेको बताए । उनका अनुसार पछिल्लो पटक वडा नम्बर ६ कमैयाडाडामा ६३१ जनाको नमुना जाँच गर्दा २ जना रोगी र ३६ जना वाहक फेला परेको र वडा नम्बर २ कन्चनापुरमा चार सय ८७ जनाको नमुना जाँच गर्दा ३ जना रोगी र ४४ जना वाहक फेला परेको बताए ।