लुम्बिनी केबलकारको परीक्षण शुरु

सदरलाइन संवाददाता ६ जेष्ठ २०८०, शनिबार १४:०३
 

बुटवल : लुम्बिनी केबलकारले बुटवलमा परीक्षण शुरु गरेको छ । बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाइ कुल दुई किलोमिटर छ सय मिटर छ ।

अहिले केबलकारको परीक्षण सञ्चालन भइरहेको र जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको लुम्बिनी केबलकार प्रालिले जनाएको छ ।

विसं २०७७ मा शिलान्यास भएको करिब तीन वर्ष तीन महिनापछि केबलकार उदघाटन गरिने भएको छ । लुम्बिनी केबलकार प्रालिका आयोजना प्रमुख गोकुल साउदले जेठ १५ गतेबाट केबलकार व्यावसायिक रूपमा सञ्चालन हुने बताए ।

लुम्बिनी केबलकारको कुल लागत साढे तीन अर्ब रुपैयाँ रहेको छ । केबलकार सञ्चालनसँगै टप स्टेशनमा बन्दै गरेको कामाख्या मन्दिरमा एक हप्तासम्म पूजाआजा गर्ने कार्यक्रम छ ।

यसअघि वैशाखमा सञ्चालनमा ल्याउने भनिए पनि प्राविधिक काम सम्पन्न नभएकाले जेठ दोस्रो सातादेखि सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको आयोजना प्रमुख साउदले जानकारी दिए । केबलकार सञ्चालनमा आएसँगै वसन्तपुर डाँडामा पाँचतारे होटल, बाल उद्यान, जिपलाइनलगायत संरचना निर्माण हुने उनले बताए । लुम्बिनी केबलकारमा ‘मोनोकेबल डिट्याचेबल सिस्टम’ का २५ वटा ‘गोन्डाला’ रहेका र यिनबाट दैनिक छ हजार यात्रु ओसारपसार गर्न सकिने बताइएको छ ।


अहिले परीक्षणका लागि १५ वटा ‘गोन्डाला’ प्रयोग गरिएको छ । एउटा ‘गोन्डाला’ मा आठ यात्रु बस्न मिल्ने बताइएको छ ।

केबलकारको तल्लो स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा छ । तल्लो स्टेसनबाट माथिल्लो स्टेसनमा पुग्न करिब १० मिनेट लाग्ने केबलकार प्रालिले जनाएको छ ।

भारतीय सीमाबाट नजिक भएकाले गर्मी मौसममा शीतलताका लागि र जाडो मौसममा न्यानोका लागि भारतको गोरखपुर, लखनउसम्मका पर्यटक यहाँ आकर्षित हुने विश्वास लिइएको छ ।

नेपाल सरकारले बुटवलदेखि वसन्तपुरसम्मको करिब तीन किलोमिटर बीचमा पर्ने ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गर्न लुम्बिनी केबलकारलाई २५ वर्षका लागि भोगाधिकार दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ऐतिहासिक स्थलको संरक्षण गरौ : पोख्रेल

६ जेष्ठ २०८०, शनिबार १४:०३
दाङ : लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीशंकर पोख्रेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन् । तुलसीपुर–१९ मा रहेको ऐतिहासिक एव मधार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिकामालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा जथाभावी रुपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्यहरु नष्ट भएको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले […]

सम्बन्धित