धनगढीमा चार लेनको हुलाकी राजमार्ग बन्दै

सदरलाइन संवाददाता २९ बैशाख २०८०, शुक्रबार १३:३१
 

धनगढी : कैलालीको धनगढीमा चार लेनको हुलाकी राजमार्ग बन्दै छ । सहरी क्षेत्रमा फराकिलो सडक बनाउने गरी हुलाकी राजमार्गलाई चार लेनको बनाउन लागिएको हो । धनगढीको क्याम्पस रोडदेखि मनेहरासम्म कालोपत्रेको काम भइरहेको छ ।

तीन किलोमिटरमा चार लेनको सडक बन्ने हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले बताए । उनका अनुसार कालोपत्रेको काम अब अन्तिम चरणमा रहेको छ ।

पहिलो प्याकेजको तीन किलोमिटरमा चार लेन र अन्यतिर दुई लेनको सडक बन्ने जनाइएको छ । चार लेनमा १५ मिटर चौडाइ भएको कालोपत्रे र दुई मिटरको मेडियन बन्दैछ ।

धनगढीको क्याम्पस रोडदेखि कटैनी नदीसम्म पहिलो प्याकेज बनाइएको छ । चार लेनमा काम सकिएपछि मात्रै यो प्याकेजको बाँकी खण्डमा कालोपत्रेको काम अगाडि बढाउने तयारी भइरहेको छ ।


२०७७ साल असार १४ गते पहिलो प्याकेजको ठेक्का सम्झौता भएको थियो । थप गरिएको समय सीमा २०८० साल पुस ९ गतेसम्म यो खण्डको काम सम्पन्न गर्नुपर्ने छ । ३७ करोड ४२ लाख रुपैयाँमा ठेक्का पाएर स्वच्छन्द–जोशी जेभीले निर्माणको काम गरिरहेको छ ।

कैलालीमा सात वटा प्याकेज बनाएर हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । आर्थिक वर्ष २०६४÷६५ देखि हुलाकी राजमार्ग निर्माणको कार्य सुरु भएको थियो ।

यसअघि भारतीय सरकारको सहयोगमा भारतीय कम्पनीले नै निर्माणको काम गरेको थियो तर सो कम्पनीले अधुरै सडक नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यो राजमार्गलाई फराकिलो बनाउन सरकारले लगानी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुलरियामा रेबिजले एक महिनामा २ जनाको मृत्यु

२९ बैशाख २०८०, शुक्रबार १३:३१
बर्दिया : सदरमुकाम गुलरियामा एक सातायता रेबिजग्रस्त कुकुरको टोकाइबाट गुलरिया–५ का सात वर्षीय बालकको मृत्यु भयो । यसैगरी कुकुरको टोकाइबाट तीन साताअघि गुलरिया–९ का २३ वर्षीय किशोरको मृत्यु भएको जिल्ला अस्पताल, बर्दियाले जनाएको छ । रेबिजग्रस्त कुकुरबाट दुई जनाको मृत्युपछि अस्पतालमा रेबिजविरुद्ध खोप लगाउनेको संख्या दैनिक तीन दर्जन बढी रहेको […]