बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट शुरु

सदरलाइन संवाददाता २८ बैशाख २०८०, बिहीबार १६:०५
 

भैरहवा : पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम) शुरु भएको छ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को आयोजनामा दोस्रो संस्करणको रुपमा बुद्धिष्ट ट्राभल मार्ट शुरु भएको हो ।

आयोजक नाट्टाले विश्वभर नेपालको सम्पदा आध्यात्मिकलगायत पर्यावरणीय साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बीआइटीएम आयोजना गरिएको जनाएको छ ।

नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापाले कोभिड महामारीपछि नेपालको पर्यटन गतिविधि पुनः सुचारु भइरहेको बताए । पर्यटकीय आगमनलाई तीव्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्धभूमि लुम्बिनीलाई केन्द्रमा राख्दै आयोजना गरिएको ट्राभल मार्ट वैशाख ३० गतेसम्म चल्ने बताए ।

नेपाल पर्यटन बोर्डको संयोजनमा आयोजना भएको बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको सचिवालय नाट्टाले वैशाख २८ देखि ३० गतेका लागि भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंकालगायत देशबाट ट्राभल–टूर कम्पनीहरू सहभागी छन् ।

नेपालबाट पनि सोही संख्यामा ट्राभल–टूर कम्पनीहरू विक्रेताका रूपमा सहभागी गराई बीटुबी कार्यक्रम तयारी गरिएको उनले जानकारी दिए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले कार्यक्रमको उदघाटन गरे ।


यसअघि लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन गरिएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उदघाटन गर्ने भनिए पनि अन्तिम समयमा उनी उपस्थित हुन नसकेको आयोजकले जानकारी दिएको छ ।

नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले लुम्बिनीको होटल पवन प्यालेसमा बीटुबी कार्यक्रम आयोजना हुने र सोही होटलमा स्वदेशी तथा विदेशी विज्ञद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनार हुने जानकारी दिइन् ।

बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालनबाट नेपाली टुर्स एण्ड ट्राभल कम्पनीहरू र होटल व्यवसायीले विदेशी टुर र ट्राभल कम्पनीसँग व्यापार साझेदार गर्ने सम्भावना वृद्धि हुने विश्वास व्यक्त गरिन् । लुम्बिनीमा विश्वभरीका पर्यटक ल्याउन थप मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट लुम्बिनीलगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार प्रसारमार्फत नेपाललाई पर्यटकीय हव बनाउने सन्दर्भमा गहन छलफल र निचोड निकाल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नर्सिङ्ग दिवशमा बाँकेका स्वास्थ्यकर्मीद्वारा रक्तदान

२८ बैशाख २०८०, बिहीबार १६:०५
नेपालगञ्ज : अस्पतालहरुमा उपचारको लागि रगत अभाव हुन नदिने उद्देश्यले अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा बाँकेका स्वास्थ्यकर्मीहरुको पहलमा नेपाल रेडक्रस सोसाइटी नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ । नर्सिङ सङ्घ बाँकेको आयोजनमा भएको सो रक्तदानमा भेरी अस्पतालका निमित्त मेसु डाक्टर राजन पाण्डे, अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी क्षेष्ठ, नर्स झरना केसिलगायत दर्जन बढि […]