नेपालगञ्ज नाकाबाट नेपाली सामग्रीको निर्यात बढ्यो

सदरलाइन संवाददाता १२ बैशाख २०८०, मंगलवार १२:३८
 

नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयबाट गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको नौ महिनामा निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ भन्दा चालु आव २०७९/०८० मा निर्यात करिब एक करोड रुपैयाँले बढेको हो ।

अघिल्लो आवको साउनदेखि चैत मसान्तसम्म एक अर्ब ७९ करोड ९१ लाख ४० हजार रुपैयाँ मूल्यका विभिन्न सामग्री निर्यात भएकोमा चालु आवमा एक अर्ब ८० करोड ६२ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको सामान भारततर्फ निकासी भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालु आवमा निर्यात भएका सामानमा जडीबुटी, रिठ्ठा अघिल्लो आव भन्दा बढी छ । यसैगरी चालु आवमा प्लाउड भारततर्फ निकासी हुन थालेपछि राजश्व बढेको छ ।


नेपालगञ्ज भन्सार कार्यालयबाट गत आवको साउनदेखि चैतसम्म ६१ अर्ब ५१ करोड ९० लाख २४ हजार रुपैयाँ मूल्यको सामान आयात भएकोमा चालु आवमा आयात घटेको छ । चालु आवको सोही अवधिमा ४९ अर्ब ७२ करोड ३४ लाख ७५ हजार रुपैयाँ मूल्यको सामग्री मात्र आयात भएको छ ।

‘देशभरीजस्तै नेपालगन्ज भन्सारमा भारतबाट हुने आयात घटेको छ,’ कार्यालयका सूचना अधिकारी शर्माले भने, ‘आयात घट्नु आर्थिक मन्दीसँग पनि जोडिएको छ ।’ भन्सार कार्यालयका अनुसार अघिल्लो आवको साउनदेखि चैतसम्म व्यापार घाटा ९७.०९ प्रतिशत रहेकोमा चालु आवमा ९६.३७ प्रतिशत रहेको छ ।

यसैगरी गत आवमा आयात निर्यातअनुपात ३४.३४ प्रतिशत रहेकोमा चालु आवको चैतसम्म २७.५३ प्रतिशत रहेको छ । चालु आवको चैतसम्म आयातअनुपात १९.१७ प्रतिशतले घटेको छ भने निर्यात अनुपात ०.८३ प्रतिशतले बढेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आवमा डिजेल, पेट्रोल, चिनी, एलपी ग्याँस, चामल लगायतको आयात घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एचआइभी संक्रमितलाई थप पाँच वर्ष सहयोग गरिने

१२ बैशाख २०८०, मंगलवार १२:३८
नेपालगञ्ज : स्वास्थ्य सेवामा एचआइभी संक्रमितको पहुँच पुगे पनि समाजले हेर्ने दृष्टिकोण परिवर्तन नभएको नेपालगन्जमा आयोजित एक कार्यक्रममा बताइएको छ । समाजलाई एचआइभीको बारेमा राम्रोसँग बुझाउन नसक्दा उनीहरु अहिले पनि समाजबाट तिरस्कृत हुन परेको कार्यक्रमका सहभागीले बताए । एचआइभी संक्रमितका लागि एएचएफले भेरी अस्पतालमा संचालन गरेको पाँच वर्षिय कार्यक्रमका बारेमा […]

सम्बन्धित