नेपालगञ्ज : सुकुम्बासीलाई ऐलानी जग्गा मिलाइदिने प्रलोभनमा पारेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुर्गम पहाडी जिल्लाबाट मानिसहरू बोलाएर बाँकेको बैजनाथ गाउँपालिकाको पितमारी नजिकैको जंगलमा सुकुम्बासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकामध्ये जाजरकोटको नलगाड नगरपालिका वडा नं. ११ का ४४ वर्षीय नरबहादुर कामी, सोही जिल्लाको कुशे गाउँपालिका वडा नं. ४ का ३८ वर्षीय मोहनजंग शाह र डोल्पा जिल्ला ठूलीभरी नगरपालिका वडा नं. ७ कि ६० वर्षीया सुनरुपा ठकुल्ला रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि अदालतले उनीहरूलाई सात दिनको म्याद थप गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार गिरोहले झन्डै १ हजार ५ सयको संख्यामा दुर्गम क्षेत्रका स्थानीयहरूलाई सुकुम्बासीका नाममा बाँकेको बैजनाथ २ पितमारीको जंगलमा लगेर बस्ती बसाउँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रतिव्यक्ति ५ सयदेखि एक हजारसम्मको फारम भराएर पैसा असुल्ने गिरोहमध्येका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जंगल अतिक्रमण गरेर बस्ती बसाउन लागेको सूचना थाहा पाएसँगै प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको डीएसपी तिवारीले बताए । ‘केही दिनअघिदेखि नै कोहलपुर क्षेत्रमा शंकास्पद मानिसहरूको चहलपहल बढेकाले हामीले निगरानी गरिरहेका थियौं,’ डीएसपी तिवारीले भने, ‘त्यहि सूचनाका आधारमा ती व्यक्तिहरूलाई सुकुम्बासी बनाएर जंगल अतिक्रमण गर्ने योजना रहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिन सफल भएका हौं ।’
जाजारकोट, सल्यान, रुकुम, मुगु, डोल्पा लगायतका पहाडी जिल्लाका मानिसहरूलाई झन्डै एक महिनाअघिदेखि नै कोहलपुरमा रहेका आफन्तको घरमा बसालेर जंगल अतिक्रमण गर्न भनि ल्याइएकाहरूमध्ये धेरैजसो महिला, बालबालिका, ज्येष्ठ नागरिक रहेको डीएसपी तिवारी बताए ।