क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

सदरलाइन संवाददाता २८ चैत्र २०७९, मंगलवार १३:५०
 
hand in jail

नेपालगञ्ज : बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ । तीन सय ५० जनाको क्षमताको नेपालगञ्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन् ।

महिला थुनुवालाई बर्दिया जिल्ला कारागारमा स्थानान्तरण गरी दुईवटै ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ । बाँके कारागारको ब्लक ‘ए’मा छ सय १७ र ब्लक ‘बी’ मा दुई सय ३२ कैदीबन्दी राखिएको जेलर अर्जुनजङ्ग शाहले बताए । उहाँका अनुसार ब्लक ए दुई सय ५० क्षमताको हो भने ब्लक बी एक सय क्षमताको हो ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा थुनुवाहरू खचाखच स्थितिमा बस्न बाध्य छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले खानेपानी, शौचालयलगायतको समस्या छ भने वर्षौँदेखि जीर्ण भवनले कैदीबन्दीलाई बस्न समस्या छ ।


तीन हजार कैदीबन्दी राख्ने क्षमतासहित बाँकेको नौबस्तामा नौ बिघाको क्षेत्रफलमा निर्माणाधीन सुविधासम्पन्न क्षेत्रीय कारागार सञ्चालनमा अझै आउन सकेको छैन । “अर्थ मन्त्रालयले बजेट रोकेपछि क्षेत्रीय कारागार कहिले सञ्चालनमा आउँछ भन्ने कुराको कुनै टुङ्गो छैन”, जेलर शाहले भने, “बजेट रोकिदिएकाले कर्मचारी व्यवस्थापन हुन नसक्दा क्षेत्रीय कारागार सञ्चालनमा आउन सकेको छैन ।”

जिल्लाको गनापुरमा भवन निर्माण भएको वर्षौँ बितिसक्दा खुला कारागार सञ्चालनमा आएको छैन । खुला कारागार सञ्चालन कार्यविधि बन्न नसक्दा सञ्चालनमा ढिलाइ भएको हो । कारागार सञ्चालन तथा व्यवस्थापनमा कानुनी अड्चनका कारण करोडौँ लगानी गरेर निर्माण गरिएका भौतिक संरचना त्यत्तिकै थन्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गर्मी बढ्दै गएको बेला नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच

२८ चैत्र २०७९, मंगलवार १३:५०
नेपालगञ्ज : नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ । बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका अगुवा मानवअधिकारकर्मीहरूको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको जनाएको हो । तीन सय ५० जना कैदीबन्दी […]