खाता जैविक मार्गमा बाघको त्रास

सदरलाइन संवाददाता २३ चैत्र २०७९, बिहीबार १३:४५
 

बर्दिया : जिल्लास्थित वन्यजन्तु ओहोरदोहोर गर्ने खाता जैविक मार्गमा बाघ आक्रमणको त्रास बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग हुँदै भारतको कतरनियाघाटबाट वन्यजन्तु ओहोरदोहोर गर्छन् । यसै कारण यस आसपासका बस्तीमा वन्यजन्तुको त्रास बढेको हो ।

यस क्षेत्रका किसान चरिचरण र घाँसदाउरा गर्न जैविक मार्गको वनक्षेत्रमा जान्छन् । खाताका संरक्षणकर्मी भदै थारूले वनक्षेत्रमा जाँदा समूहमा जान आग्रह गरे पनि किसानले वास्ता नगर्दा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको बताए । ‘खाता जैविक मार्गका केही ठाउँमा तारबार लगाएका ठाउँमा वन्यजन्तु आउजाउ गरेका छैनन्,’ उनले भने, ‘धेरै ठाउँमा तारबार नहुँदा वन्यजन्तुले धनजनको क्षति पुर्याएका छन् । सरकार यसतर्फ गम्भीर भएको देखिएन ।’

जैविक मार्गमा चैत महिनामा मात्रै मधुवन नगरपालिका–५ स्थित चिरौटो सामुदायिक वनमा दाउरा लिन गएकी वडा नम्बर १० की ५५ वर्षीया समुन्द्री बुढाक्षत्री र ५० वर्षकी धनसरी गुरुङको बाघको आक्रमणमा परी मृत्यु भयो । २०७७ असोज ५ गते मधुवन–३ की २६ वर्षीया गंगा खत्रीलाई घाँस काट्न जाँदा सम्झना सामुदायिक वनमा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको थियो । करिब एक महिनायता खाता जैविक मार्गमा बाघसँगै हात्ती पटक–पटक गाउँ आसपासका क्षेत्रमा पस्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।


दिनरात बाघ र हात्ती कराएको सुनेर स्थानीयवासी रातभर त्रासले जाग्राम बस्ने गरेको उनीहरूले बताए । दुई सातायता हात्तीले मध्यवर्ती क्षेत्र आसपासका करिब एक दर्जन घर भत्काइसकेका छन् । यस क्षेत्रमा बाघ मात्रै नभई हात्तीले पनि घर भत्काउने, अन्नबालीमा क्षति पुर्याउने गर्दै आएका छन् । खेतबारीमा जाँदा वन्यजन्तुको त्रासले काम गर्न परिरहेको स्थानीय हरिप्रसाद थारूले गुनासो पोखे । ‘वनक्षेत्रमा तारबार लगाएको भए ढुक्क भएर खेतमा काम गर्ने वातावरण हुन्थ्यो,’ उनले भने, ‘घटना भएपछि सरकारी निकायले सुरक्षाको आश्वासन मात्रै बाँड्दै हिँड्छ तर काम भने केही गर्दैन ।’

चालु आर्थिक वर्षमा बाघको आक्रमणले चार जनाको ज्यान गइसकेको खाता सामुदायिक वन समितिका अध्यक्ष हरि गुरुङले बताए । जिल्ला डिभिजन वन कार्यालयअन्तर्गत रहेको खाता जैविक मार्गमा निरन्तर बाघ र हात्तीको आक्रमणमा ठूलो धनजनको क्षति हुँदै आएको छ । ‘सरकारी निकायले वास्तै गर्दैन,’ उनले भने, ‘समुदायले हामीसँग गुनासो पोख्छन् ।’

बाघको संख्या वृद्धि भएसँगै चार वर्षदेखि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्गमा मानवीय क्षति बढ्दै गएको छ । चार वर्षको अवधिमा ११ जनाले बाघको आक्रमणबाट ज्यान गुमाइसकेका छन् । चार वर्षमा जिल्लाभरि वन्यजन्तु आक्रमणबाट २७ जनाको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । वन्यजन्तुको आक्रमण अधिकांश जंगल क्षेत्रभित्र भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । ‘वन जंगलभित्र घाँसदाउरा लिन जाँदा वन्यजन्तुले आक्रमण गरेका छन्,’ उनले भने । बर्दिया राष्ट्रिय निकुञ्ज र सीमावर्ती क्षेत्रमा दर्जन बढी सामुदायिक वन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हनुमान जन्मोत्सवका अवसरमा नेपालगञ्जमा शोभा यात्रा

२३ चैत्र २०७९, बिहीबार १३:४५
नेपालगञ्ज : श्री हनुमान जन्मोत्सवको अवसरमा बिहीबार नेपालगञ्जमा बिशाल शोभा यात्रा निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं–२ स्थित हनुमानगढीबाट शुरु भएको बिशाल शोभा यात्रा नेपालगञ्जको बिभिन्न भागको परिक्रमा गरेको थियो । शोभा यात्रा धम्बोझी चोक, पुष्पलाल चोक, न्यूरोड, त्रिवेणीमोड, त्रिभुवन चोक र बीपी चोक हुँदै पुनः हुनमानगढी मन्दिरमा पुगेर […]