बाँकेमै सोलारबाट उत्पादन भयो १० मेगावाट विद्युत

सदरलाइन संवाददाता २३ चैत्र २०७९, बिहीबार १३:३४
 

नेपालगञ्ज : औद्योगिक घराना गोल्यान समुहको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँकेको खजुरामा सोलारबाट १० मेगावाट विद्युत् उत्पादन गरेको छ भने थप १० मेगावाट उत्पादनको अन्तिम चरणमा पुगेको छ ।्

सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा बिहीबार देखि परीक्षणका लागि जोडिँदैछ । पियोर ईनर्जी लिमिटेडले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरस्थित घिया गाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको उक्त विद्युत् आज (बिहीबार) देखि परीक्षणका लागि जोडिन लागेको हो ।

३३ केभी विद्युत् कोहलपुर सवस्टेशनमा जोडिने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ । सोलार विद्युत् परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो । उक्त कम्पनीले सोलारबाट थप १० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ । जसको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

तत्काललाई १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने पियोर ईनर्जी लिमिटेडका केन्द्रीय प्रमुख शुभम गुप्ताले जनाए । ‘अहिले तत्कालका लागि १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्दै छौं,’ उनले भने, ‘करिब हप्ता दिनपछि उक्त विद्युत् नियमित प्रसारण हुन्छ ।’ त्यसको करिब दुई महिनापछि थप १० मेगावाट पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी तयारी भएको उनले जनाए ।


उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ–६, कोहलपुर–३, कोहलपुर– ४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुँदै निर्माण भइ चटार हुँदै कोहलपुर सवस्टेसनसम्म परीक्षण गरिने ट्रान्समिटर सुपरभाइजर लिलाधर चापागाईले जनाए । उनका अनुसार बिहीबार बिहानैदेखि उक्त क्षेत्रमा विद्युत् छोडिने छ । पोल, तार, स्टे तथा विद्युतीय संरचना नछोइ नचलाइदिनु हुन उनले सबैलाई अनुरोधसमेत गरेका छन् ।

रनियापुरस्थित घिया गाउँमामा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् आज (बिहीबार) बाट सुरु गरिने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले जनाए । ‘अहिले परीक्षण प्रसारण हुन थालेको छ,’ उनले भने, ‘प्रारम्भिक परीक्षण प्रसारण भएपछि यसलाई नियमित गर्छाैं ।’ उक्त प्रसारण लाइन सफल भएपछि केही समयमा सोही कम्पनीबाट थप १० मेगावाट विद्युत् खरिद गर्ने उनले बताए ।

गर्मी समय सुरु भएसँगै हुने विद्युत् समस्या केही समाधान हुने उनको भनाइ छ । ‘अब गर्मी बढ्यो । यतिबेला अलि बढी विद्युत् चाहिन्छ,’ उनले भने, ‘आजबाट प्रारम्भिकरुपमा शुरु हुने विद्युतले केही सहयोग पुर्याउने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाता जैविक मार्गमा बाघको त्रास

२३ चैत्र २०७९, बिहीबार १३:३४
बर्दिया : जिल्लास्थित वन्यजन्तु ओहोरदोहोर गर्ने खाता जैविक मार्गमा बाघ आक्रमणको त्रास बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग हुँदै भारतको कतरनियाघाटबाट वन्यजन्तु ओहोरदोहोर गर्छन् । यसै कारण यस आसपासका बस्तीमा वन्यजन्तुको त्रास बढेको हो । यस क्षेत्रका किसान चरिचरण र घाँसदाउरा गर्न जैविक मार्गको वनक्षेत्रमा जान्छन् । खाताका […]