नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी नेपालगञ्ज आइपुगेका छन् । बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको गिरीले बुधबार निरीक्षण गरे । खजुरा गाउँपालिका वडा नम्बर ७ मा ३७ र वडा नम्बर ८ मा ८१ बिघा विश्व विद्यालयलाई आवश्यक पर्ने जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको छ ।
सो क्रममा मुख्यमन्त्री गिरीसँग खजुरा क्षेत्रका स्थानीयले आफूहरूलाई व्यवस्थापन हुने गरी काम गर्न सुझाव दिएका छन् । मुख्यमन्त्री गिरीले प्रदेशको गौरव योजनाका रूपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान हुने भएकाले सबैको सहयोग आवश्यक भएको बताए ।
त्यस क्रममा उपस्थित भएका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बि.क.ले विश्वविद्यालय निर्माणको काम सुरु भएपछि स्थानीयवासीको व्यवस्थापन हुने विश्वास दिलाएका थिए । विश्वविद्यालयको ‘सिनेट’ बैठक पनि बुधबार नै नेपालगञ्जमा बस्ने बताइएको छ । उक्त बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सेवा आयोगका सदस्य नियुक्ती र थप बजेट माग गर्ने निर्णय गर्नेछ ।
निरीक्षणका क्रममा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका सांसद सुर्य ढकाल, लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, खजुरा गाउँपालिकाका निर्वतमान अध्यक्ष किस्मतकुमार कक्षपति, नेपाली काँग्रेस खजुरा गाउँपालिका सभापति रमेश सिजाली, एमालेका युवा नेता भिम ओली, गोपाल गिरी लगायत स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो ।