बाँकेका मुख्य बजार क्षेत्र सुनसान

सदरलाइन संवाददाता ११ चैत्र २०७९, शनिबार १५:५०
 

नेपालगञ्ज : बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो ।

कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्युन हुँदै गएको हो ।

भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण नेपालगञ्जको व्यापार कम हुँदै गएको व्यापारीहरुले बताए ।

आर्थिक संकट बढ्दै गएका बेला सरकारले चासो नदिएको व्यापारीहरुको आरोप छ । आर्थिक मन्दीमा पनि सरकारले आवश्यक चासो नदेखाउँदा व्यापार धराशायी भएको व्यापारी सुनिल गुप्ताले बताए ।

उनले अनलाईन व्यापार र सरकारको नीतिकै कारण व्यापार न्युन हुँदै गएको भन्दै विगतका वर्षमा व्यापारको तुलनामा यो वर्ष व्यापार नभएपछि समय काट्न पनि समस्या भएको बताए ।


खुला सीमा र भारतीय बजारबाट क्यारिङ गरेर मालवस्तु नेपाल भित्र्याउने चलनले नेपालगञ्ज र कोहलपुरको व्यापारमा कमी आएको नेपालगञ्जकी महिला व्यवसायी माया खड्काले बताए ।

उनले अहिलेसम्म धेरै नै घाटा भइसकेको भन्दै सिमानामा कडाई गर्नुपर्ने माग गरे । आर्थिक संकट बढ्दै जानु र व्यापारीहरुलाई एलसी सिस्टमबाट गएर सामान आयात गर्नुपर्ने झन्झटले गर्दा नेपालगञ्जको व्यापारको स्थिति निकै कमजोर हुँदै गएको उनीहरुको गुनासो छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपालगञ्जको व्यापार व्यवसाय अत्यन्तै कम हुँदै गएको बताए । उनले नेपालगञ्जको व्यापार कम हुनुमा बैंकहरुले व्यवसायीहरुबाट चर्को ब्याज लिनु र विकास निमार्णका कार्यहरु ठप्प हुनु रहेको बताए ।

कर्जामा बैंकहरुले एक्कासी दोब्बरले ब्याज नबढाएर सहुलियत दरमा ब्याज लागाइनुपर्ने र अनलाइन व्यापार, खुला सिमानामा सरकारले कडाई गर्नुपर्ने व्यापारीहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिल्नु पर्छ : महेश बस्नेत

११ चैत्र २०७९, शनिबार १५:५०
नेपालगञ्ज : नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका छन् । प्रेस चौतारी, बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले कांग्रेस […]