बर्दियामा बालविवाह न्यूनिकरणका लागि विभिन्न सञ्जाल र समूह सक्रिय हुँदै

रुद्र सुवेदी ८ चैत्र २०७९, बुधबार १९:४७
 

बर्दिया :  बर्दियामा बालविवाह न्यूनिकरणका लागि विभिन्न सञ्जाल र समूहलाई सक्रिय बनाईएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बारबर्दिया नगरपालिकामा सञ्चालित बालसंरक्षण कार्यक्रम अन्तरगत सक्रिय बनाईदा यसले उल्लेखनिय नतिजा बाहिर ल्याउन सफल भएको पाईएको हो ।

बाल विवाह जस्तो सामाजिक कलंकका बिरुद्ध बर्दियामा जनप्रतिनिधि, आमा समुह, किशोरी क्लव सञ्जाल, बाल क्लव सञ्जाल, बड्घर सञ्जाललगायतको सहकार्यमा उदाहरणीय पहल भएपछि बालविवाह न्युनिकरण हुँदै गएको छ ।

बाह्रबर्दिया वडानं. ४ अभिभावक समूहका अध्यक्ष पार्वती थारुले प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लवले आफुहरुलाई बालविवाह जस्तो सामाजिक कुरीतिका बिरुद्ध आवाज उठाउन एउटै थलोमा उभिने मौका दिएकोमा आफु आभारी भएको बताईन ।

उनले आफुहरुको आँखा खोल्ने मात्र नभएर अनुशाशित समेत बनाएको बताउदै आफ्नो समस्या समेत अरुलाई भन्न सक्ने भएकोमा खुशी ब्यक्त गरिन । उनले भनिन–‘ पहिला बाल विवाह के हो र यसको मानिसहरु किन बिरोध गर्छन भन्ने बुझेकी थिईन । तर, अहिले भने बाल विवाहको कारण हुने समस्याको बारेमा बुझेकी मात्र छैन बुझाउन सक्ने समेत भएकी छु ।’

उनीहरुको समूह हरेक महिनाको १२ गते १२ बजे बैठक बसेर गाउटोलको समस्याको बारेमा छलफल गर्ने, बालविवाह हुने संकेत पाए त्यसलाई रोक्नको लागि पहल गर्ने, आफुहरुको क्षमता विकासको लागि योजना माग्ने तथा वडा पालिकालाई पनि आफुहरुको कामको जानकारी गराउदै बालहिंसा, बालविवाह, सामाजिक अपराधको बिरुद्ध बखरदारी गर्ने गरेको अध्यक्ष थारु बताउछिन ।

आमा समुहकी सदस्य राधा थारुले भने बालविवाह घरको कामलाई सघाउनको लागि अभिभावकले नै मौन स्वीकृतिमा गर्नलगाउने गरेको पाईएको बताईन ।

उनी भन्छिन–‘केही अभिभावकले आफ्नो घरको काम गराउने लोभले बालविवाह गराउने गरेका छन् । छोराले वा छोरीले मन पराएको जानकारी पाउने वित्तिकै घरको काममा बोलाउने र घरमा आवत जावत गर्दागर्दै विवाह गरिदिने नयाँ उपाए निकालेको पाईएको छ ।’ उनले यस्तो प्रबृत्तीको चियो र चासो हुनसके बालविवाह रोकिने बताईन ।

उनले भनिन–‘यसरी विवाह गरेर गएकाहरु आफुहरुको सम्पर्कमा नआउने र आएमा पनि काउन्सिलिङ्ग गर्दा आफू गर्भवती भएको जवाफ किशोरीको आउने र जोर जबरजस्ती गरे आत्महत्या गर्छु भन्ने धम्कि दिने गर्दा आफुहरु के गर्ने भन्ने द्वुबिधामा पर्ने गरेका छौ । तैपनि त्यस्ता घटनालाई निरुत्साहीत पार्न सक्रिय छौ ।’


सोही वडाकी बाल संरक्षण समितिका अध्यक्ष समेत रहेकी अनुजा थारुले बालबालिका माथि हुने हिंसाको बारेमा जन्ने हुनुको साथै आफुहरुको सपनाको बारेमा समेत सोच्नसक्ने भएको बताईन । ‘हामी समुहको बैठक वसेर आफ्ना समस्याको बारेमा खुलेर छलफल गर्ने र समाधानको लागि उपाय पनि सोही बैठकमै निकाल्ने गरका छौ’– उनले भनिन ।

उनले आफ्नो समुहले वडामा रहेको आमा समुह, बड्घर सञ्जाल, लगायतसंगको सहकार्यमा बालविवाहबिरुद्धको गतिविधि सञ्चालन गर्ने गरेको र वडापालिकाले पनि यसमा आफुहरुलाई आवश्यक सरसहयोग गर्ने गरेको बताईन ।

सो वडाका वडा अध्यक्ष सिताराम योगीले आफ्नो वडामा बालविवाह हुन नदिनको लागि आफु प्रतिबद्ध रहेको बताए । उनले भने–‘ विपन्नताको कारण अभिभावकले नै सुटुक्क विवाह गराउने गरेको पाईएको छ । वडाले बालविवाह गर्नेलाई वडाले दिने सेवा सुबिधा रोक्ने, बालविवाह गर्नेको भोजमा सामेल हुनेलाई समेत कारवाही गर्ने जस्ता नीति नै बनाएर सुसुचित गर्न सुरु गरेका छौ ।’

यसैबीच बाल संरक्षण कार्यक्रम अन्तर्गत बारबर्दिया ४ र ५ मा गठन गरिएको विभिन्न समुह तथा बालअधिकार समितिको प्रगतिका सम्बन्धमा स्थलगत अनुगमन गरिएको छ । बाँके युनेस्को क्लबको व्यवस्थापन समिति र पत्रकारको संयुक्त टोलीले बारबर्दिया नगरपालिका ४ घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी क्लब तथा वडा नम्बर ५ को बाल अधिकार समितिका पदाधिकारीहरुसंग छलफल तथा अन्तरक्रिया गरेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिएको थियो ।

क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले घोरपिट्टामा रहेको अभिभावक समुह र किशोरी समुहले निरन्तर वालविवाह रोकथाम, बाल संरक्षण र बालअधिकारका लागि काम गरिरहेको पाईएको बताए ।

उनले किशोरी समुहले बालविवाह, बालहिंसा, बाल अधिकार, किशोरीहरुले हिंसाबाट बच्नका लागि गर्नु पर्ने उपाय, आत्मरक्षा जस्ता विषयमा सचेतना फैलाउने काम गर्दै बालबालिकालाई नियमित विद्यालयमा पठाउने, बालविवाह हुने सम्भावना देखे सम्झाउने वा सम्बन्धित निकायमा जानकारी गराउने, कुलत तथा लागुऔषधमा किशोरकिशोरीहरु पर्न सक्ने भएकोले उनीहरुलाई जोखिमबाट छुटाउन प्रयास गर्ने लगायतका क्रियाकलापहरु गरिहेको पाईएको जानकारी दिए ।

अनुगमन टोलीमा बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्त प्रमुख वेद पंगाली, अनुगमन अधिकृत अनुप बर्मा, कार्यक्रम अधिकृत ईश्वर विक, पत्रकारहरु र क्लबका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महेन्द्र बहुमुखीमा अनेरास्ववियुका माधव खत्री निर्वाचित

८ चैत्र २०७९, बुधबार १९:४७
नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सभापतिमा अनेरास्ववियुका माधव खत्री निर्वाचित भएका छन् । खत्रीले नेतृत्व गरेको संयुक्त प्यानल सबै पदमा निर्वाचित भएको छ । खत्री ७५६ मतका साथ स्ववियु सभापति चुनिएका हुन् । खत्रीले नेपाल बिद्यार्थी संघबाट सभापतिका उम्मेदवार जीवनराज सुवेदीलाई पराजित गरेका हुन् । सुवेदीले ६६६ मत […]