गाँजा फडानी गर्दै बाँके प्रहरी

सदरलाइन संवाददाता ५ चैत्र २०७९, आईतवार १३:१८
 

नेपालगञ्ज : बाँके र बर्दियाको सीमास्थित मानखोला नजिकै बढी परिमाणमा गाँजा उम्रिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले फडानी गरेको छ ।

ईलाका प्रहरी कार्यालय धनौलीमातहतको रनियापुर प्रहरी चौकीका सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दासहितको सहभागितामा गाँजा फडानी गरेको छ ।

बैजनाथ गाउँपालिका ८ टिटिहिरियाको गुरुदयालपुर र आसपासको क्षेत्रमा जमिनमा ठूलो परिमाणमा गाँजा उम्रिएपछि स्थानीय र बाह्य युवाले गाँजा सेवन गर्न थालेपछि नियन्त्रणका लागि प्रहरीलाई अनुरोध गरिएको वडा सदस्य धीरेन्द्रसिंह ठकुरीले जानकारी दिए ।

“बारीमा गाँजा आफैँ उम्रिएको भएपनि दुर्व्यसनीमा लागेका युवाका लागि सहजता भएको देखियो,” वडा सदस्य ठकुरीले भने– “गाँजा भएको ठाउँमा युवा रातभर जम्मा भएर विभिन्न गतिविधि गर्ने भएकाले सुरक्षाको दृष्टिकोणले समेत गाँजा फडानीका लागि अनुरोध गरिएको हो ।”


इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक सन्दीप बेल्बासेले सबै प्रकारका लागू औषधको सेवन, ओसारपसार र कारोबार नियन्त्रणका लागि प्राथमिकताका साथ कार्ययोजना बनाएर प्रहरी परिचालन गरिएको जानकारी दिए ।

भारतीय सीमावर्ती क्षेत्र भएका कारण भारतबाट विभिन्न प्रकारका लागुऔषध भित्राएर यहाँ सेवन र कारोबार हुने गरेको जनगुनासो व्यापक छ ।

प्रहरी निरीक्षक बेल्वासेले लागु औषध नियन्त्रणका लागि सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत आम स्थानीय बासिन्दाको साथ र सहयोग अपरिहार्य भएको बताए ।

लागु औषधको कारोबार गर्ने र नियमित सेवन गर्नेहरुको पहिचान गरी पक्राउ गरिने भन्दै उनले लागु औषध नियन्त्रणका लागि समयमै प्रहरीलाई सूचना उपलब्ध गराउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्ववियु निर्वाचन : बाँकेका ४ क्याम्पसमा मतदान जारी

५ चैत्र २०७९, आईतवार १३:१८
नेपालगञ्ज : बाँकेका चार वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मतदान जारी छ । पूर्व निर्धारित तालिकाअनुसार क्याम्पसहरुमा स्ववियुको नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको हो । कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ्ग क्याम्पस, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र जन सिद्देश्वर बहुमुखी क्याम्पस हब्रहवामा निर्वाचन हुँदैछ । स्ववियुको […]