नेपालगञ्जको स्विमिङ पुल सर्वसाधारणका लागि खुल्ला

सदरलाइन संवाददाता ३ चैत्र २०७९, शुक्रबार १५:२६
 

नेपालगञ्ज : नेपालगञ्ज रंगशालास्थित पौडी पोखरी (स्विमिङ पुल) सञ्चालनमा आएको छ । नेपालगन्जका गर्मीलाई मध्यनजर गरि पौडी पोखरी सञ्चालनमा ल्याएको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले बताए । गत वर्षबाट पूर्णरुपमा सञ्चालनमा आएको पौडी पोखरी वर्षात शुरु भएपछि बन्द गरिएको थियो ।

पौडी पोखरीको सरसफाई गरि सञ्चालनमा ल्याएको उनले बताए । ‘सञ्चालनमा आएसँगै सर्वसाधारणका लागि समेत खुल्ला गरिएको छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण भएको उक्त पौडी पोखरी सरकारले निर्माण गरेको काठमाडौँ पछिको दोस्रो ठूलो हो । १ चैतदेखि संचालन गर्ने तयारी गरिए पनि ३ चैतबाट पूर्ण रुपमा संचालनमा आएको चन्दको भनाई छ । ‘पौडी खेल्न चाहने सर्वसाधारणका लागि समेत खुल्ला गरिएको छ,’ उनले भने, ‘पौडी खेल्न चाहने सर्वसाधरणले पौडीको मज्जा लिन सक्नुहुन्छ ।’


नेपालगन्ज रंगशालामा रहेको स्विमिङ पुल प्रयोगका लागि शुल्क निर्धारण गरिएको छ । समितिले सर्वसाधारणका लागि प्रति सिफ्ट दुई सय रुपैँया र विद्यार्थीका लागि प्रति सिफ्ट एक सय रुपैँया शुल्क निर्धारण गरेको कार्यालय प्रमुख चन्दले बताए । उनले मासिक, अर्ध बार्षिक र बार्षिक सदस्यता शुल्क समेत निर्धारण भएको बताए । ‘सर्वसाधारणको मागलाई दृष्टिगत गरि होटलको शुल्क भन्दा कम शुल्क निर्धारण गरिएको छ,’ उनले भने ।

समितिले स्पेशल र सदस्य समुहका लागि छुट्टाछुट्टै सिफ्ट बनाएको छ । स्पेशल र सदस्य समुहका लागि विहान ८–१० बजे र स्पेशल समुहका लागि बेलुकी ४ः३०–६ः३० बजेको समय निर्धारण गरिएको लेखा अधिकृत मिनबहादुर जिसीले बताए । ‘सर्वसाधारण महिलालाई विहान ११–१ बजेको समय दिइएको छ । महिलाका लागि दिइएको समयमा पुरुषलाई प्रवेश गर्न दिइने छैन,’ उनले भने ।

स्विमिङ पुल सञ्चालनका लागि प्रशिक्षक र जीवन रक्षकको ब्यवस्था समेत गरिएको छ । स्विमिङ गर्नुभन्दा पहिले अनिवार्य रुपमा सावर लिनुपर्ने र स्विमिङ गर्नेहरुले अनिवार्य रुपमा स्विमिङ कस्टम लगाउनु पर्ने नियम लागू गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा डढेलो ‘दस्ता’ निर्माण गरिने

३ चैत्र २०७९, शुक्रबार १५:२६
नेपालगञ्ज : बाँकेका विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्त्रणका लागि विभिन्न ठाउँमा वन डढेलो ‘दस्ता’ निर्माण गरिने भएको छ । कुनै कारणबस डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय एकैपटक खट्ने प्रबन्धका लागि सो दस्ताले काम गर्ने जिल्ला वन कार्यालयले जनाएको छ । उनीहरुलाई डढेलो नियन्त्रण गर्न […]

ताजा अपडेट