नेपालगञ्ज : अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बाँकेको नेपालगञ्जमा बालिका, किशोरीहरुलाई आत्मसुरक्षा तालिम सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरको आयोजनामा बुधबारदेखि सुरु गरिएको तालिममा ६० जना किशोरी तथा बालिका सहभागी छन् ।
उपमहानगरका माध्यमिक विद्यालयस्तरका किशोरी तथा बालिकालाई तालिम दिइएको हो । तालिम आरम्भमा सहभागी मधेसी आयोगका सदस्य बिजय गुप्ताले महिला आत्मसम्मानका साथ बाच्नका लागि आफ्नो सुरक्षाका लागि आफै सक्षम हुन जरुरी भएको बताए ।
उपमहानगरका नगरप्रमुख प्रशान्त विष्टले महिलाका सुरक्षालाई ध्यान दिँदै उपमहानगरले महिलाका लागि आत्मरक्षा तालिम आयोजना गरिएको बताए । कार्यक्रममा नन्दलाल बैश्यले महिलाहरु आत्मनिर्भर हुन जरुरी भएको भन्दै आत्मविश्वास बलियो भएमात्र महिला आत्मनिर्भर हुन सक्ने सुनाए ।
उपमहानगरका सामाजिक महाशाखा प्रमुख शोभा शाहले माविस्तरका छात्राहरुलाई पहिलो चरणमा दुई वटा टिम बनाएर तीनदिने तालिम आयोजना गरिएको बताइन् ।
उपमहानगरले ९ जना ई–रिक्सा चालक महिला तथा उद्यमी महिला तथा माइती नेपाललाई सम्मान गरेको छ ।