कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले ११३ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा व्यवसायी तथा उद्यमी महिलालाई सम्मान गरेको छ । कोहलपुर नगरपालिका महिला बालबालिका तथा बालकल्याण उपशाखा÷मुल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा १५ जनालाई सम्मानित गरिएको हो ।
सबै वडाबाट एक–एक जना व्यवसायीलाई सम्मान गरिएको बालबालिका तथा समाज कल्याण उपशाखाकी महिका विकास निरीक्षक घटना शाहले जानकारी दिए ।
सम्मानित हुनेहरुमा वडा नं. १ बाट बिनिता बसन्ती तिरुवा, वडा नं.२ बाट बिनिता बिक, वडा नं.४ बाट तुल्सी कुमारी कामी, वडा नं.६ बाट हरिमाया वाग्ले, वडा नं.७ बाट भिसरानी थारु, वडा नं.९ बाट गीता कुमारी मल्ल चन्द, वडा नं.१० बाट धनसरी खत्री, वडा नं.११ बाट जयारुपा चौलागाईं, वडा नं.१२ बाट पानसरा कामी, वडा नं.१३ बाट सरीता पुनमगर, वडा नं.१४ बाट सिर्जना थापामगर र वडा नं.१५ बाट कलारानी थारु रहेका छन् ।
वडा नम्बर ३, ५ र ८ का व्यवसायी तथा उद्यमी महिलालाई भने पछि सम्मानित गरिने भएको छ । ती वडाले व्यवसायी तथा उद्यमी महिला सिफारिस नगरेका कारण सोमवार सम्मानित गर्न नसकिएको हो । अपाङ्ता, एकल तथा जेष्ठ नागरिक भएपनि उहाँहरुले ब्यबसायका माध्यम जिबिकोपार्जन गर्दै आउनु भएको छ ।
जिल्ला समन्वय समितिकी उप संयोजक सीता कार्की, कोहलपुर नगरपालिकाकी नगर उप प्रमुख संगीता सुवेदी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कार्यपालिका सदस्य अनिता बुढा, भुपबहादुर दर्जि, पबित्रा कुमारी थारु, वडा नम्बर १ का वडा अध्यक्ष बद्री जैशी लगायतले उनीहरुलाई सम्मानित गरेका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिकी उप संयोजक सीता कार्कीले महिलाहरु ब्यबसायतर्फ उन्मुख हुँदै जानु सकारात्मक भएको बताइन् । उनले व्यवसायी तथा उधमी महिलालाई सम्मान गर्ने संस्कारले अरु महिलालाई पनि व्यवसायमा लाग्न प्रेरित गर्ने बताइन् ।
यस्तै नगर उप प्रमुख संगीता सुवेदीले महिला दिवसलाई कोहलपुर नगरपालिकाले सप्ताह व्यापी कार्यक्रम गरेर मनाइरहेको बताएन् । उनले महिलाहरु सशक्त हुने हो भने हिंसा न्यूनीकरणमा बल पुग्ने पनि बताइन् । महिलाहरु सशक्त हुनका लागि सबैभन्दा पहिला आत्मनिर्भर हुन जरुरी रहेको बताइन् । उनले त्यसका लागि कोहलपुर नगरपालिकाले सीपमूलक तालिमहरु दिने काम गर्दै आएको पनि सबैलाई जानकारी दिइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकाल, सामाजिक विकास समितिका संयोजक ईश्वरी बिक लगायतले बोलेका थिए ।