दाङ : सडक अलपत्र पारेको भन्दै घोराहीका सर्वसाधारणले सडक डिभिजन कार्यालय दाङमा विरोध प्रदर्शन गरेका छन् ।
घोराहीको तुलसीपुर चोकदेखि कटुवा खोलासम्मको सडक अलपत्र पारेको भन्दै स्थानीयले सोमबार सडक डिभिजन कार्यालय दाङमा विरोध प्रदर्शन गरेका हुन् ।
सामाजिक अभियन्ता तथा दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल र चित्रकान्त आचार्यको नेतृत्वमा भएको विरोध प्रदर्शन टोलीले सडक डिभिजन कार्यालयको गेटमा एक घण्टा ताला लगाएको थियो ।
२०७७ सालदेखि अलपत्र अवस्थामा रहेको सडक हालसम्म पनि मर्मत नहुँदा सास्ती भोग्नुपरेको भन्दै उनीहरूले विरोध जनाए । २०७७ साल असार मसान्तदेखि यो सडक निर्माणका लागि म्याद थप नभएको र धरौटी रकमबाट पनि काम सम्पन्न भएको भुसालले बताए ।
‘२०७७ साल असार मसान्तपछि यस सडक निर्माणको लागि म्याद थप भएको छैन् । न ठेकेदारको धरौटी रकमबाट सडक निर्माणको काम भएको छ। न व्यवसायीलाई कालो सूचीमा राखिएको छ’, उनले भने, ‘हामीले लमहीदेखि तुलसीपुर सम्मको चार लेन सडक समय मै निर्माण हुनुपर्छ, भनेर विभिन्न समयमा आवाज उठाएको भएयता पनि कुनै सुनुवाइ भएन ।’
उनले यो सडक निर्माणको लागि स्थानीय सरकारलाई भन्दा आफ्नो क्षेत्रभित्र नपर्ने भनेर जवाफ दिने गरेको भन्दै प्रदेशलाई भन्दा पनि उही जवाफ आउने गरेको बताए । अलपत्र सडककै कारण २५ जनाको मृत्यु भइसक्दा पनि सरकारको ध्यान नगएको उनको भनाइ छ । यस्तै स्थानीय शिवशंकर देवकोटाले सडकको धुलोको कारण महिनामा २/३ पटक अस्पताल ध्यान बाध्य भएको बताए ।
यस्तै नागरिक समाज दाङका संयोजक केबी मसालले नागरिकको आन्दोलनलाई ख्यालठट्टा नठान्न समेत आग्रह गरे । उनले सडकका कारण नागरिकहरूले धेरै समस्या पाएको भन्दै त्यसैको विरोधमा मंगलवार सडक कार्यालयको गेटमा विरोध गर्न आएको पनि बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले सडकका कारण नागरिक लगायत व्यवसायी पनि मारमा परेको गुनासो गरे ।