बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

सदरलाइन संवाददाता ५ फाल्गुन २०७९, शुक्रबार १४:४३
 

बुटवल : बुटवलमा चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ । प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उदघाटन गरे ।

प्रतियोगिताको उदघाटन गर्दै नगरप्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी लाग्ने बताए ।

उनले खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै सुरुवात गर्नुपर्ने बताउँदै विद्यालय तहमा खेलाडी उत्पादनका लागि सहकार्य गर्न बुटवल उपमहानगरपालिका सधैँ तयार रहेको बताए ।

प्रमुख पाण्डेयले बुटवल ऐतिहासिक, औद्योगिक, पर्यटकीय नगरका रूपमा स्थापित भइसकेको बताउँदै खेलका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न खेलक्षेत्रका सबैको साथ जरुरी रहेको जानकारी दिए । उनले बुटवलमा फुटबल, टेबलनटेनिस, ब्याडमिन्टनलगायतका राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना हुने गरेको र आगामी दिनमा अन्य प्रतियोगिता पनि आयोजना गर्ने गरी लाग्न खेलकुद क्षेत्रका व्यक्तिहरूलाई आग्रह गरे ।


कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका हरि क्षेत्रीले जिल्लाको खेलकुदलाई स्तरीय बनाउनका लागि प्रतिबद्ध रहेको बताए । प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागततर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिता संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा चार सय ९४ टीमका एक हजार ९१ विद्यार्थी सहभागी रहेको उनले बताए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरूलाई क्रमशः १५, १० र पाँच हजार रुपैयाँ र नगद प्रदान गरिनेछ ।

प्रतियोगिताको उदघाटनका अवसरमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुति देखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवार महाशिवरात्री श्रद्धाभक्ति पूर्वक मनाईंदै

५ फाल्गुन २०७९, शुक्रबार १४:४३
नेपालगञ्ज : हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्री शनिवार श्रद्धाभक्ति पूर्वक देशभरका शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाईंदैछ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ […]