नेपालगञ्ज : नमुना विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र कोष सञ्चालन कार्यविधिका मुख्य व्यवस्था तथा यसमा परिमार्जन गर्नुपर्ने विषयहरुमा शुक्रवार नेपालगञ्जमा छलफल गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको उपस्थितिमा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले तयार पारेको उक्त नमुना ऐन र कार्यविधिमा परिमार्जन÷थप÷संशोधन गर्नुपर्ने विषयहरुमा छलफल गरिएको वातावरण इन्जिनियर प्रकाश डिसीले बताए ।
नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख एवम् प्रतिनिधि, विपदका क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधि लगायतले सुझाब दिएका छन् ।
१५ सदस्यीय बनाउनुपर्ने स्थानीय विपद व्यवस्थापन समितिमा को–को रहने, समाबेशी कसरी बनाउने, समितिको काम, कर्तब्य र अधिकार, विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि, कोष पूर्व तयारीमा खर्च गर्न पाउने व्यवस्था सम्बन्धमा छलफल गरिएको थियो । छलफलको सहजीकरण डिपिएनका राजु थापाले गरेका थिए ।