डुडुवा (बाँके) : बिहीवार राती बाँकेको डुडवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा भएको तोडफोड र आगजनीको घटना आज सामान्य भएको बाँके प्रशाासनले जनाएको छ ।
स्थानान्तरण हुने र नहुने भन्ने दुई पक्ष बीचको विवादले उग्र रुप लिँदा घटना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताए । उनले कानुनी विवादको विषयलाई संघसंस्थाको समन्वयमा समाधान गरेर आज बेलुका केहीलाई काठमाडौं स्थानान्तरण गरिने जानकारी दिएका छन् । ‘अहिले कुनै समस्या छैन, सामान्य अवस्था छ’ प्रमुख जिल्ला अधिकारी आर्चायले भने ।
सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेको भन्दै तोडफोड र आगजनी भएको थियो । बाल सुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाई भएकाले अवस्था नियन्त्रणमा ल्याउन प्रहरीलाई हम्मेहम्मे भएको थियो ।
प्रहरीले नेपालगञ्जबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिने प्रयास गरेपनि नियन्त्रणमा लिएलगत्तै उनीहरुले आफैं सुत्ने सिरक डसनामा आगजनी गरेका थिए । तोडफोड भएको ब्लकमा कानुनी विवादमा परेका करिब ७० जना आश्रित छन् । सुधार गृहको ३ वटा भवन मध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो ।
सुधार गृहमा कुल २ सय २३ जना आश्रित रहेका छन् । उनीहरुबीच पछिल्लो एक महिनामा ४ पटक ग्यांग फाइट भएपछि केहीलाई काठमाडौं स्थानान्तरण गर्ने तयारी गरिएको थियो । कानुनी विवादमा परेर सुधार गृहभित्र राखिएकाहरू दुई समूहमा विभाजन भएर भिडन्तमा उत्रँदै आएपछि एक समूहलाई काठमाडौं स्थानान्तरण गर्न थालिएको थियो ।