नेपालगञ्जमा रहेको अत्याधुनिक शौचालय प्रयोगविहीन

सदरलाइन संवाददाता २५ माघ २०७९, बुधबार १४:५६
 

नेपालगञ्ज : नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालयको रूपमा चर्चा पाए पनि सञ्चालनमा आएको केही समयमै शौचालय प्रयोगविहीन भएको छ ।

नेपालगञ्जको धम्बोझी चोकमा करिब तीन वर्षअघि सञ्चालनमा आएको स्वचालित शौचालय केही समयमै प्रयोगविहीन भएको नेपालगञ्ज उप–महानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले जानकारी दिए ।

“लामो समयदेखि शौचालय प्रयोगविहीन भएर थन्किएको छ” वातावरण इन्जिनियर डिसीले भने, “शौचालयलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।”

स्वचालित शौचालय भएकाले समय समयमा आउने समस्याको समाधान गर्ने दक्ष प्राविधिकको अभावमा शौचालय बन्द भएको उपमहानगरपालिकाले जनाएको छ । एसएनभी नेदरल्याण्ड्स विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत ४६ लाख ३६ हजार रुपियाँको लागतमा स्वचालित शौचालय निर्माण गरिएको थियो ।


पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र शौचगर्दा स्वचालित रूपमा सङ्गीत बज्ने व्यवस्था छ । फोल्डिङ्गयुक्त भएकाले यसलाई अर्को ठाउँमा समेत सहजै लैजान सकिने व्यवस्था रहेको छ । यो शौचालयमा एक पटकमा ३ जना महिला, ३ जना पुरुष र एक जना फरक क्षमता भएका गरी सात जनाले प्रयोग गर्न सक्छन् ।

नेपालगञ्जको मुख्य चोक सुर्खेत रोड र घरबारी टोल तथा खजुरा रोड आसपासका व्यवसायी तथा यात्रु र बटुवाको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरिएको भए पनि प्रयोगविहीन भएपछि नागरिकलाई शौचका लागि समस्या हुनेगरेको छ ।

नेपालगञ्जभित्र करिब एक दर्जनको सङ्ख्यामा सार्वजनिक शौचालय भए पनि स्थानीय बासिन्दाको साथ र सहयोग भए मात्रै अपेक्षाअनुसारको स्वास्थ्य र सरसफाइको क्षेत्रमा सफलता प्राप्त हुने उपमहानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १०२ प्रतिशतले लगाए दादुरा खोप

२५ माघ २०७९, बुधबार १४:५६
नेपालगञ्ज : बाँकेमा दादुरा–रुबेलाको खोप लक्ष्य भन्दा बढीले लगाएका छन् । ६ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ७१ हजार २४५ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्य कार्यालयले जिल्लाका ८ वटा पालिकामा एक लाख ६८ हजार ४०२ जना बालबालिकालाई […]