खानेपानी आयोजनामा उपभोक्ताको आकर्षण बढेन

सदरलाइन संवाददाता १८ माघ २०७९, बुधबार १४:५७
 

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिका –४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाई उपभोक्ता समितिको मासिक खर्च करिब ७० देखि ८० हजार रुपैयाँसम्म छ । तर ग्राहकबाट सङ्कलन हुने रकम भने मासिक करिब ४० हजार रुपैयाँ मात्रै छ ।

खानेपानी आयोजनाले गरेको पाइपलाइन विस्तारअनुसार करिब दुई हजार ५०० बढी घरधुरीसम्म खानेपानीको धारा जडान हुन सक्छ । तर न्यून सङ्ख्यामा मात्रै धारा जडान भएका कारण मासिक खर्च पुग्ने अवस्था नरहेको समितिका अध्यक्ष राजकुमार ढकालले जानकारी दिए ।

“अधिकांशका घरमा ह्याण्डपम्प छन” अध्यक्ष ढकालले भने, “स्वच्छ पिउने पानीको महत्वबारे नबुझेकाले पनि धेरैको घरमा धारा जडान हुन सकेको छैन ।” अध्यक्ष ढकालका अनुसार भर्खरै मात्रै खानेपानी योजना निर्माण भई सञ्चालनमा आएका कारण बिस्तारै खानेपानीको प्रयोग गर्नेको सङ्ख्या बढ्नेछ ।

गर्मीको समयमा खानेपानीको धारा सुक्ने भएकाले खानेपानीको धारा धेरैले जडान गर्ने उहाँको भनाइ छ । करिब सात करोड रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भई सञ्चालनमा आएको हो । बाँके खजुरा गाउँपालिका ४ ई–गाउँमा रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पाइपलाइन विस्तार गरेअनुसार करिब एक हजार ८०० घरधुरीमा खानेपानीको धारा जडान हुनसक्छ ।


हालसम्म करिब तीन सय घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको उपभोक्ता समितिका अध्यक्ष उज्जवल विसीले जानकारी दिए । ग्राहकबाट उठ्ने महसुलबाट मासिक खर्च समेत धान्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

सरकारले आम नागरिकलाई स्वच्छ पिउनेपानीको उपलब्धता गराउने लक्ष्यअनुसार वडा तथा टोलवस्तीमा खानेपानी ट्याङ्की तथा पाइपलाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ । तर थोरै मात्र उपभोक्ता समितिको ग्राहक बन्दा मासिक खर्च धान्न मुश्किल हुने अवस्था देखिएको छ ।

उपभोक्ता समितिले कर्मचारीको पारिश्रमिक, विद्युत् महसुल खर्च तथा मर्मतसम्भार खर्च धान्न समेत नसक्ने अवस्था देखिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले सरकारले करोडौं रुपैयाँ लगानी गरेर आम नागरिकलाई स्वच्छ पिउनेपानीको उपलब्धता गराउन खोजेको भन्दै आयोजनाको ब्यवस्थापनका लागि बढीभन्दा बढी उपभोक्तालाई समितिमा आबद्ध बनाउन आवश्यक भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुदूरपश्चिममा बोलिने १७ भाषाको संयुक्त शब्दकोष तयार

१८ माघ २०७९, बुधबार १४:५७
कैलाली : कैलालीका पूर्व शिक्षक कुलासिंह बमले सुदूरपश्चिम प्रदेशमा बोलिने भाषाहरुको बहुभाषिक शब्दकोष तयार गर्नुभएको छ । चार हजार शब्द सम्मिलित शब्दकोषमा सुदूरपश्चिममा बोलिने पहाडी जिल्लाका सात भाषा, अङ्ग्रेजी, नेवारी, मगर, राजी, डंगौरा थारु, दङहा, पूर्वी कठरिया, मलवारी कठरिया र राना थारु गरी १७ भाषा छन् । भाषाबारे जानकार शिक्षकलाई […]