भारतीय कुखुरा आयातमा कडाई गरेसँगै स्वदेशी कुखुराको बिक्री बढ्यो

सदरलाइन संवाददाता १५ माघ २०७९, आईतवार १३:११
 

नेपालगञ्ज : बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दै गएको छ । सरकारले सीमामा हुने तस्करी रोक्न केन्द्रबाटै कडा निर्देशन दिएलगत्तै बाँकेमा भारतबाट कुखुराको अवैध आयात घट्दै गएको व्यवसायीहरुको भनाइ छ ।

केही दिनयता बाँकेमा उत्पादन गरिएका कुखुराको खपत बढ्दै गएकाले भारतबाट कुखुराको अवैध आयातमा कमी आएको पोल्ट्री व्यवसायी सङ्घ बाँकेका कार्यवाहक अध्यक्ष ईश्वर सुवेदी बताउँछन् । हाल केही सुधारको लक्षण देखापरेको सुवेदीले बताए ।

अहिले केही समययता स्थानीय कुखुराको बिक्री बढेको नेपालगन्ज परसपुरका कुखरापालक व्यवसायी निजामुद्दीन ईद्रिसीले बताए । अर्का कुखुरापालक किसान मुनेजर खाँले भारतीय अवैध कुखुरा आयातमा कडाइ गरेपछि कुखुराको बिक्री बढेको बताए ।

उनले अहिले केही दिनयता स्थानीय उत्पादनमा माग बढ्दै गएकोले आफूहरूमा आशा पलाएको बताए । बर्डफ्लु लगायत पन्छीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ ।

यसअघि दैनिक ६० क्विन्टलसम्म अवैध भारतीय कुखुरा भित्रिँदा यहाँको व्यवसाय धराशायी बनेको थियो । भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेकाले मुनाफाका लागि भारतीय कुखुरालाई तस्करी गरेर नेपाली बजारमा पुर्याउने गरिएको छ ।


मुख्य नाका लगायत ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक ठूलो मात्रामा भारतबाट कुखुरा नेपाल आउने गरेको र त्यसको असरले स्थानीय व्यवसायीको व्यवसाय धरापमा परेकोमा अहिले केही राहातको सङ्केत देखिएको अधिकांश व्यवसायीको भनाइ छ ।

सीमापारिबाट ल्याइएका कुखुरालाई नेपालकै उत्पादन भन्दै नेपालगन्ज, कोहलपुर र जहाजमार्फत कर्णाली प्रदेशका जुम्ला, डोल्पा र हुम्ला लगायतका जिल्लामा समेत पुर्याउने गरिएको पोल्ट्री व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।

पोल्ट्री व्यवसायी सङ्घ बाँकेले विगत लामो समयदेखि कुखुराको अवैध आयात रोक्न पटक पटक स्थानीय प्रशासन र प्रहरीको ध्यानाकर्षण गराउँदै आएको थियो । स्थानीय प्रहरी प्रशासनले पनि केही समययता अवैध कुखुरा आयातमा निकै कडाइ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले त्यस्ता अवैध आयातलाई शून्यमा झार्ने गरी काम गरिरहेको बाँकेका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए । सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट कुखुरा र चल्ला तस्करी हुने गरेको व्यवसायीहरूको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कालो कोठीको सफल शल्यक्रिया

१५ माघ २०७९, आईतवार १३:११
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजका प्लास्टिक सर्जन डा. विनोद कर्णले कालो कोठीले अनुहार ढाकिएकी १० वर्षीया विपन्न बालिकाको सफल शल्यक्रिया गरेका छन् । बाँकेको जानकी गाउँपालिका–१ की १० वर्षीया फूलजहा कबडियाको अनुहारको उपचारमा कसैले वास्ता नगरेपछि डा. कर्णले दुई चरणको जटिल शल्यक्रिया निःशुल्क गरेका हुन् । कोठीले देबे्रतिर आधाभन्दा बढी […]