बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, चार सय घरमा क्षति

सदरलाइन संवाददाता १३ माघ २०७९, शुक्रबार १३:२८
 

बाजुरा : बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् ।

भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी गराए । बडीमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तकहाँ बसेका छन् । भूकम्पले घर चर्किएका र बस्ने अवस्थाका नभएकाले पाँच परिवार त्रिपालको सहारमा छन् ।

भूकम्पपछि त्रिपालको सहारामा बडीमालिकाका एक, गौमुलका एक र हिमालीका तीन परिवार रात काट्न बाध्य छन् । बडीमालिकाको एउटा परिवार मन्दिरमा बास बस्न थालेको थापाले बताए । भूकम्पका कारण झण्डै चार सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सङ्कलन गरेको क्षतिको विवरणअनुसार सबैभन्दा बडीमालिका नगरपालिकामा क्षति भएको छ ।

भूकम्पले बडीमालिकामा २१, बूढीनन्दामा तीन र बूढीगङ्गामा एक घर पूर्णरूपमा क्षति भएका छन् भने हिमालीमा १९, गौमुलमा ११, खप्तड छेडेदहमा चार, स्वामीकार्तिक खापर गाउँपालिकामा एक गरी ६० घर पूर्णरूपमा क्षति भएको डिएसपी थापाले बताए । बडीमालिकामा ३१, बूढीनन्दामा ९, हिमालीमा ९, खप्तड छेडेदह पाँच र गौमुलमा पाँच घरमा आंशिकरूपमा क्षति पुगेको छ ।


यसैगरी भूकम्पले बडीमालिकामा एक सय ८७, बूढीनन्दा नगरपालिकामा एक, हिमाली ४० र स्वामीकार्तिक खापर गाउँपालिकामा एक घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट प्रहरी चौकी विच्छ्या जोखिममा छ । प्रहरी चौकी कुन्नार कारागार सुरक्षा गार्ड ब्यारेक चर्किएको छ । भूकम्पबाट गौमुल गाउँपालिका–२ जुरीलेकी ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो ।

भूकम्पबाट गौमुल–१ अम्लिसका ३५ वर्षीय राजदल बोहरा, बडीमालिका नगरपालिका–२ की ४२ वर्षीया चन्द्रा महत, हिमाली गाउँपालिका–१ की ६ वर्षीया सुश्रीता थापा र हुम्ला जिल्ला घर घई हिमाली–६ मा दिदीको घर आएकी १६ वर्षीया सरिता नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।

बोहरा, महत र नेपाली उपचारपछि घर फर्किएका छन् भने थापाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । भूकम्पका कारण गौमुल–१ अम्लिसका बोहराका ३५ भेडा मरेका डिएसपी थापाले बताए । भूकम्पले पु¥याएको क्षतिको विवरण प्रहरीले सङ्कलन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया भन्सारमा सवारी साधन लिलाम नहुँदा कवाड बन्दै

१३ माघ २०७९, शुक्रबार १३:२८
बर्दिया : भन्सार कार्यालय बर्दियामा करिब ६ वर्षदेखि विभिन्न समयमा बरामद गरेर राखिएका सवारी साधनको लिलाम प्रक्रिया अघि बढ्न सकेको छैन । चोरी लगायतका ती सवारी साधन लिलाम नहुँदा कवाड बन्दै गएका छन् । करोडौं मूल्यका सवारी साधन लिलाम गर्न भन्सार कार्यालयले वास्ता नगरेका कारण पानी, शीत र घामले तिनमा […]