टरिगाउँ विमानस्थलबाट सातामा ५ दिन उडान हुने

सदरलाइन संवाददाता ३ पुष २०७९, आईतवार ११:२३
 

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब साताको पाँच दिन उडान हुने भएको छ ।

यसअघि सातामा तीन दिन मात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबार मात्रै उडान हुँदै आएको थियो ।

पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताइन् । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनले जानकारी दिइन् ।

‘यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीँबाट इन्धन हाल्न थालिएको छ’, उनले भने, ‘त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।’ यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको उनको भनाई छ ।


साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको उनले बताए । ‘नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौं’, उनले भनिन्, ‘त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ ।’

केही दिन अघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको हो । अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।

कुनै समय दैनिक दुईवटासम्म उडान भर्ने गरिएको भएपनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेसहित पश्चिम तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

३ पुष २०७९, आईतवार ११:२३
नेपालगञ्ज : बाँकेलगायत पश्चिम तराईका जिल्लामा चिसो बढेको छ । बाक्लो हुस्सु लाग्न थालेपछि चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । चिसोका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको संक्रमण बढेको छ । चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न […]