कर्णालीमा रोकिएन बालविवाह

सदरलाइन संवाददाता २३ मंसिर २०७९, शुक्रबार १३:४०
 

सुर्खेत : कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७८÷७९ मा सुत्केरी हुन नसकेर १७ जना महिलाको मृत्यु भएको छ । त्यसमध्ये पाँच जना २० वर्षमुनिका थिए । कर्णाली प्रदेशमा बालविवाहका कारण कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत जनस्वास्थ्य शाखाकी कम्युनिटी नर्सिङ अधिकृत कविता खत्रीले बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको बताइन् । उनले भनिन्, “कर्णालीको मातृ मृत्युको तथ्याङ्क हेर्ने हो भने डरलाग्दो छ । शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन सकेको छैन ।”

उनले भनिन्, “बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै छन् । बच्चा जन्माउन सफल भएका कतिपय आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखापर्ने हुन्छ ।” कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाउने व्यवस्था गरेको छ । यसलाई रोक्न सरकारी तथा गैरसरकारी संस्थाबाट अभियान सञ्चालन भए पनि बालविवाह न्यूनीकरण हुन सकेको छैन ।


कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेको सरकारी तथ्याङ्क छ । गरिबी, अशिक्षा र पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले पनि बालविवाह बढ्दो छ । जनचेतनामूलक कार्यक्रम भइरहे पनि अपेक्षित रूपमा बालविवाह न्यूनीकरण हुन सकेको छैन । उमेर नपुग्दै बालविवाह गरेको पाइए अभिभावकलाई राखेर सम्झाइ बुझाइ गरेर बिहे रद्द गर्ने गरिए पनि लुकिछिपी बाल विवाह भइरहेको बताइन्छ ।

कर्णालीमा कम उमेरमै आमा बन्नेको सङ्ख्या धेरै छ । कर्णालीमा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा कलिलो उमेरमा आमा हुनेको सङ्ख्यामा कमी आएको देखिन्न । २०७६ यता कर्णालीमा गर्भवती हुनेको तथ्याङ्कअनुसार १६ हजार ७०१ जना २० वर्षमुनिका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा पाँच हजार ३२८ जना २० जना, २०७७÷७८ मा छ हजार २० जना र २०७८÷७९ पाँच हजार ३५३ जना २० वर्षमुनिका छन् । कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहेको कम्युनिटी नर्सिङ अधिकृत खत्रीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनेरास्वियुले बागेश्वरी क्याम्पसमा बुझायो ध्यानाकर्षण पत्र

२३ मंसिर २०७९, शुक्रबार १३:४०
कोहलपुर (बाँके) : स्वतन्त्र बिद्यार्थी युनियनको २०७३ यता चुनाव नगरेर ४ बर्षदेखि स्वबियुलाई बन्धक बनाएको भन्दै अनेरास्ववियु बागेश्वरी बहुमुखि क्याम्पस कमिटिले मध्यबपश्चिम बिश्वविद्यालयका आंगिक क्याम्पसहरुमा अबिलम्ब स्वबियु चुनाब गर्न भन्दै आबश्यक पहलकदमीका लागि बागेश्वरी बहुमुखि क्याम्पस मार्फत सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । शुक्रबार कोहलपुर स्थित बागेश्वरी क्याम्पसमा बागेश्वरी बहुमुखी क्याम्पस […]