छाडा चौपायाले नेपालगञ्जमा दुर्घटनाको जोखिम बढ्यो

सदरलाइन संवाददाता १७ मंसिर २०७९, शनिबार १३:०७
 

नेपालगञ्ज : नेपालगञ्ज क्षेत्रका छाडा पशु चौपाया राख्नका लागि कान्जीहाउस भएपनि यसको उचित प्रयोग हुन सकेको छैन । छाडा पशु चौपाया व्यवस्थापनका लागि ठूलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने माग गरिएको छ ।

गाई, साढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगञ्जका मुख्यमुख्य चोकमा मात्र होइन, गल्लीगल्लीमा सयौँको संख्यामा भेट्न सकिन्छ । पश्चिम नेपालकै सबैभन्दा ठूलो शहर नेपालगञ्जका विभिन्न प्रमुख सडक र चोकमा घोडा, खच्चर र गाईबस्तु लगायत छाडा पशु चौपायाको बिगबिगी बढेको छ ।

शहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, खच्चड र गाईले कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमन समस्या भइरहेको छ । केही दिन पहिले नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट आफै सडकमा खटिएर छाडा चौपायालाई बजार क्षेत्रबाट लखेटे पनि फेरि जताततै छाडा घोडा, खच्चड र गाईगोरु देखिन थालेका छन् ।

उपमहानगरले छाडा चौपाया छोड्नेलाई जरिवाना तिराउने निर्णय गरेपनि सो निर्णय कार्यान्वयन नहुँदा समस्या समाधान हुन नसकेको स्थानीयको गुनासो छ । सो समस्याप्रति उपमहानगरपालिकाले गम्भीर भएर ध्यान नदिएकै कारण पटक–पटक छाडा चौपायाको समस्या दोहोरिएको र सडकमा छाडा चौपाया बढेको नेपालगञ्जबासीको गुनासो छ ।

झण्डै दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यस घटनाले त्यसबखत देशैभरि नेपालगञ्ज उपमहानगरपालिकाको चर्को आलोचनासमेत भएको थियो ।


यस घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगञ्ज उपमहानगरपालिकाको निर्णय आलोचित बनेको थियो । उपमहानगरपालिकाले नेपालगञ्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरी चौपाया थुन्ने गरे पनि बजारमा छाडिने छाडा चौपाया व्यवस्थापनको चुनौतीको अन्त्य भने हुन सकेको छैन ।

त्रिभुवन चोक, धम्बोझी चोक, बीपी चोक, पुष्पलाल चोक र गणेशमान चोक लगायत सुर्खेत रोड र सदरलाइनमा सबैभन्दा बढी छाडा घोडा, खच्चड र गाईगोरु भेटिने गरेका छन् । ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा पटक–पटक अवरोधसमेत हुने गरेको सुर्खेत रोडका व्यवसायी सब्बीर सिद्धिकीको दुखेसो छ ।

घोडा, खच्चड र गाईजस्ता चौपाया पाल्नेले अटेरी गरेकै कारण नगरका अधिकांश सडकमा उनीहरूको बिगबिगी भएर दिसापिसाबबाट सडक दुर्गन्ध र फोहोर बढ्ने तथा दुर्घटना निम्तिने गरेको अधिकांश नागरिकको ठहर छ । नेपालगञ्ज क्षेत्रका छाडा पशु चौपाया राख्नका लागि कान्जी हाउस भएपनि यसको उचित प्रयोग हुन सकेको छैन ।

छाडा पशु चौपाया व्यवस्थापनका लागि ठूलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने माग गरिएको छ । त्यसतर्फ समेत सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ । नेपालगञ्जमा छाडा पशुचौपाया ठूलो चुनौतीकै रुपमा रहेको छ । आफ्नो पशु चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति जस्ताको त्यस्तै छ ।

नेपालगन्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको सङ्ख्यामा पशु यता धपाउने गरिन्छ । वर्षात् शुरु हुने समयमा खच्चर कारोवारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन् बल्झिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको राजधानी सार्ने अन्तिम तयारी

१७ मंसिर २०७९, शनिबार १३:०७
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी स्थायी थलोमा सार्ने अन्तिम तयारी गरेको छ । आगामी २२ गतेसम्म निर्वाचन आचारसंहिता कायम रहने र आचारसंहिता सकिएलगत्तै अस्थायी मुकामबाट स्थायी थलोमा राजधानी सार्ने तयारी गरिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका अनुसार निर्वाचन आचारसंहिता सकिएलगत्तै राजधानी सार्ने तयारी […]

सम्बन्धित

ताजा अपडेट