बाँके २ मा धवलशम्सेर राणाको लोकप्रियता बढ्दो

सदरलाइन संवाददाता १६ कार्तिक २०७९, बुधबार १३:१९
 

नेपालगञ्ज : बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्सेर राणाको लोकप्रियता बढ्दै गएको छ ।

राप्रपाका महामन्त्री डा. धवलको पक्षमा नेपालगञ्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डा. राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।

‘म राप्रपाको कार्यकर्ता होईन तर यो निर्वाचनमा धवलशम्शेरलाई भोट दिन्छु’,डुडुवा गाउँपालिका–५ का बेलबहादुर बुढाथोकीले भने,‘‘ धवलशम्शेरले जनतालाई झुक्याउने काम गर्दैनन्, विकास गर्छन् भन्ने सबैलाई थाह छ त्यसैले अहिले उहाँको जित सुनिश्चित छ ।’

दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर निर्वाचित हुँदा धवल शमसेर राणाले आफ्नो सम्पूर्ण तलबसमेत समाजसेवामा लगाएका राणाले भ्रष्टाचार गर्दैनन् भन्ने बुढाथोकीको बुझाई छ ।

२०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए । भ्रष्टाचार बिरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगञ्जको विकास गरेका यिनै राणाले पाउने पारिश्रमिकबाट कयौं दिनदुखीलाई राहत मिलेको थियो । उम्मेदवार राणाले मेयर हुँदाको जस्तै सांसद भएपछि पाउने पारिश्रमिक समाजसेवामा लगाउने घोषणा गरिसकेका छन् । मतदातामाझ राणाले उक्त घोषणा गर्दै भने,–‘सांसदले जति पाउँछन् त्यति म दिनदुःखीको सेवामा खर्च गर्छु ।’

नेपालगञ्ज नगरपालिकामा पहिलोपटक प्रमुख बन्दा राणाले नेपालगन्जको विकास झल्किने गरी उल्लेखनीय काम गरे । नेपालगञ्जका तालतलैया संरक्षण, सडक तथा नालाको विस्तार र विकास, महेन्द्र पार्क (मिनी जू), रानी तलाउ निर्माण, नगरपालिकाको आय स्रोत बढाउन विभिन्न ठाउँमा सटर निर्माणजस्ता थुपै काम गरे ।


आफुले प्रमुख भए बाफत पाउने भत्ता दीन–दुःखीलाई वितरण गरे । भत्ताको रकमबाटै भेरी अस्पतालमा प्रतीक्षालय निर्माण गरे । आफ्नो तलब–भत्ताबाट मानबिय र सामाजिक कार्य गर्ने बिरलै जनप्रतिनिधि मध्येका एक हुन् उनी । त्यहीँ छविकै कारण धवल २० वर्षपछि पनि नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखको कुर्सीमा बस्न सफल भए । आफ्नो पार्टीको बहुमत नहुँदा पनि सबैसङ्गको उच्च सहकार्यबाट उनी दोश्रो कार्यकाल पनि सफल भए ।

उनको दोश्रो कार्यकालमा नेपालगञ्जमा अत्याधुनिक बसपार्क उपमहानगरपालिकाको सबै वडा जोड्ने पक्की सडक सडक नाली लगायतका भौतिक पूर्वाधारको विकासमा नेपालगञ्जले फड्को मारेको स्थानीयको बुझाई छ । भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने धवल सबैका प्रिय पात्र बन्न सफल भएका छन् ।

राप्रपाका केन्द्रीय महामन्त्री धवलशम्शेर राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्वर २ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण राणा जितको नजिक रहेको धेरैको विश्लेषण रहेको छ । राणाले एमालेसँगको चुनावी तालमेलले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दावी गरे ।

राणाको चुनावी घरदैलोमा राप्रपा र एमालेका कार्यकर्ता सँगसँगै पार्टीगत रुपमा नजोडिएका सर्वसाधारणसमेत स्वस्फूर्त रुपमा लाग्ने गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताए ।

बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता,कार्यकर्ता तथा जनता समेत उत्साहित भएको नेकपा एमाले बाँके क्षेत्र नं. २ का संयोजक अशोक कर्माचार्य बताउँछन् । दुई पार्टीबीचको तालमेलले बाँके क्षेत्र नं. २ मात्रै नभई जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको उनको दावी छ ।

बाँकेमा नेकपा एमालेले राप्रपासँगको तालमेलमा बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा उम्मेदवार डा. धवलसम्शेर राणा र प्रदेश सभातर्फ २ क मा एमालेका बिजयबहादुर यादव र २ ख मा एमालेका निरकबहादुर गुरुङ उम्मेदवार बनेको राप्रपाका सहमहामन्त्री देवकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनका लागि बाँकेमा बुधवारदेखि नमुना मतदान शुरु

१६ कार्तिक २०७९, बुधबार १३:१९
नेपालगञ्ज : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा बुधवारदेखि नमुना मतदान कार्यक्रम शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमूना मतदान कार्यक्रम २१ गतेसम्म हुने छ । नमूना मतदानमा मतदाता लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिकलाई मताधिकार प्रयोग गर्न कसरी दिने, मतदान गर्ने विधिलगायतका […]