जसपाले उम्मेदवार राईको घरदैलो अभियान तीव्र बनाउँदै

सदरलाइन संवाददाता ११ कार्तिक २०७९, शुक्रबार १३:३८
 

नेपालगञ्ज : दीपावली सकिएसँगै जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २ मा आफ्नो निर्वाचन अभियान तीव्र बनाउँदै छ । क्षेत्र नं २ मा पर्ने २७ वटै वडामा शनिबार एकैसाथ जसपाले घरदैलो शुरु गर्दैछ ।

घरदैलोका लागि जसपाले २७ वटै वडामा प्रतिनिधि खटाइसकेको छ । ५ दिन फिल्डमा तयारी गरेर प्रतिनिधिहरू आफूले जिम्मेवारी पाएको वडामा खट्न लागेको जनता समाजवादीपार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले जानकारी दिएका छन् ।

जसपाबाट क्षेत्र नं २ को उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई नेपालगञ्ज वडा नं २१ मा हुने घरदैलो कार्यक्रममा सहभागी हुँदैछन् । प्रदेश सभा (क) का भण्डारीलाल यादव डुडुवाको वडा नं २ र प्रदेश सभा (ख) का उम्मेदवार आदेश कुमार अग्रवालले नेपालगञ्ज वडा नं ११ को नेतृत्व गर्ने भएका छन् ।


त्यस्तै वडा नं. १ मा बुद्धिसागर सुवेदी, वडा नं २ मा अरूण सिंह, वडा नं ९ मा राजन रानामगर, वडा नं १८ मा चिन्छु बर्मा, डुडुवाको वडा नं ४ मा अतहर हुसेन फारुकीलगायतका नेताले घरदैलोको नेतृत्व गर्दैछन् ।

जसपाबाँकेका अध्यक्ष राईका अनुसार सबै वडामा विहान १० बजेदेखि घरदैलो शुरु हुनेछ । यो घरदैलो कार्यक्रमलाई अभियानकै रूपमा लैजाने जसपाको तयारी छ । शनिवारदेखि हुने घरदैलो यही १८ गतेसम्म गर्ने जसपाको कार्यतालिका तय भएको छ ।

क्षेत्र नं २ बाट जसपाका उम्मेदवार इश्तियाक राईले आफूहरूले गरेका कामहरू जनतामाझ संगठितरूपमा प्रष्ट पार्न घरदैलोलाई अभियानकै रूपमा लैजाने बताए । ‘यो घरदैलो जनतामाझ फैलाइएका भ्रम चिर्ने र आफ्ना कार्यक्रमहरू राख्ने अभियान हो । प्रारम्भिकरूपमा साताव्यापी कार्यक्रम बनाइएको हो, हामी यो भन्दा अघिपनि जनतामाझ नै थियौं । र आउँदा दिनमा पनि जनताको घरदैलोमै हुन्छौं’, राईले भने, ‘विकास र सामाजिक एकतामा कुनै दृष्टिनै नभएकाहरूले छरेका भ्रमचिर्न र समाजलाई धर्म–सम्प्रदायका नाममा विभाजन गर्न खोज्नेहरूलाई नाकाम पार्ने यो घरदैलो अभियानको मुख्य उद्देश्य हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिहार सकिएसँगै छठको रौनक शुरु

११ कार्तिक २०७९, शुक्रबार १३:३८
नेपालगञ्ज : तिहार पर्व सकिएको छ । बिहीवार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । बिहीवार दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका […]