रानाथारूको तिहार मनाउने शैली फेरियो

सदरलाइन संवाददाता १० कार्तिक २०७९, बिहीबार १४:४६
 

कञ्चनपुर : रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन ।

‘हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन’, उनले भने, ‘तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो, अहिले अरूलाई देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।’ रानाका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको ज्येष्ठ महिलाले भगवानको पूजा गर्ने चलन छ ।

‘हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ, यस दिन कुखुराको बलि दिने गरिन्छ’, रानाले भने, ‘अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ, हाम्रो परम्परा ओझेलमा छ ।’


अहिले परम्परागत गीत छाडेर आधुनिक गीत गाउन थालिएको उनले बताए । ‘एक महिना अघिदेखि नै घर लिपपोत गरेर सजाउने र राक्षसको नास होस् भनी घरको ज्येष्ठ महिलाले भगवान्को पूजा गर्ने चलन छ’, रानाले भने, ‘दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ ।’ पूजापाठ सकेपछि भाले कुखुरा काटेर खाने चलन रहेको उनले बताए ।

यसबाहेक विभिन्न परिकारसमेत बनाउने गरिन्छ। बेदकोट नगरपालिका–७ का बलबहादुर डगौराले पहिला थारू समुदायले तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन नभएको बताए । ‘पुर्खाको पालामा भगवान्को मात्रै पूजा गर्ने चलन थियो, अहिले अरुको देखेर भाइटीका लगाउन थाले’, उनले भने, ‘राना समुदायमा कुखुराको बलि दिने चलन छ थारू समुदायमा बलि दिइँदैन, पूजामात्रै गरिन्छ ।’

बदलिँदो परिवेशसँगै हरेक समुदायका पर्वहरू मनाउने चलनसमेत फेरिन थालेका छन्। पण्डित कविराज भट्ट बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वमासमेत त्यसको असर देखिन थालेको बताउँछन् । ‘प्रविधिका कारण हरेक सुमदायका पर्व परम्परागतभन्दा पनि मिश्रित हुन थालेका छन्, उनले भने, ‘पर्वका सांस्कृतिक र मौलिक पक्षको बेवास्ता गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै मनाउन थालिएको छ ।’ हरेक समुदायले आफ्ना मौलिक पर्वको सांस्कृतिक र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको भट्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपाले उम्मेदवार राईको घरदैलो अभियान तीव्र बनाउँदै

१० कार्तिक २०७९, बिहीबार १४:४६
नेपालगञ्ज : दीपावली सकिएसँगै जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २ मा आफ्नो निर्वाचन अभियान तीव्र बनाउँदै छ । क्षेत्र नं २ मा पर्ने २७ वटै वडामा शनिबार एकैसाथ जसपाले घरदैलो शुरु गर्दैछ । घरदैलोका लागि जसपाले २७ वटै वडामा प्रतिनिधि खटाइसकेको छ । ५ दिन फिल्डमा तयारी गरेर प्रतिनिधिहरू […]