नेपालगञ्ज : नेपालीहरूको महान चाड दशैं शुरू भएसँगै नेपालगञ्जबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । नेपालगञ्जबाट बाहिरिने लामो दुरीका सवारी साधनको चाप बढेको छ ।
कोरोना महामारीका कारण लगातार दुई वर्ष राम्रोसँग दशैं मनाउन नपाएका नेपालीहरू यसवर्षको दशैं हर्षोल्लासका साथ मनाउने तयारीमा छन् । कोरोना संक्रमण नियन्त्रण उन्मुख रहेकाले बाहिरी जिल्लाबाट नेपालगञ्ज आएकाहरू दशैं मनाउन फर्किरहेका छन् ।
असोज १० गते सोमवारदेखि शुरु भएको दशैं मनाउन अध्ययनका लागि नेपालगञ्जमा रहेको बाहिर जिल्लाका विद्यार्थी, जागिरेहरु लगायत उल्लेख्य मात्रामा सर्वसाधारण बाहिरिन थालेको प्रहरीले जानकारी दिएको छ । दशैंको सार्वजनिक बिदा शुरू भएसँगै नेपालगञ्ज छोड्नेको संख्या बढेको हो ।
यसैबिच नेपालगञ्ज थाकथलो भएकाहरु समेत अहिले घर फर्किरहेका छन् । राजधानी काठमाण्डौ लगायतका ठाउँमा रहेका नेपालगञ्जका नागरिकहरु पनि घर फर्किरहेका हुन् ।