नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु

सदरलाइन संवाददाता ११ आश्विन २०७९, मंगलवार १३:४७
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले मंगलवारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुशी भएका छन् ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईसमक्ष खुसी प्रकट गर्दै वडावासीले नेपालगञ्ज उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका स्थानीय घर छेउँबाटै सेवा पाएपछि खुसीले गदगद भएका छन् । उनीहरुको मुहारमा मुस्कान भरिएको देखिन्थ्यो ।

८५ बर्षीय हस्मात अलीले वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई निकै खुसी लागेको बताए । उनले बैंकमा लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको बताए । ७५ बर्षीया सन्तोखिया काँदुले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि आफूहरु जस्तो बृद्धबृद्धालाई निकै सहज भएको बताए ।


सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ को कार्यालयमा पुगेका नगर प्रमुख विष्टले जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुुरक्षा भत्ता वितरण सुरु गरिएको बताए । उनले आफूहरुले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताए ।

उपप्रमुख राईले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्यले नागरिकको अनुहारमा खुसी देखिँदा आफूहरुलाई सन्तोष मिलेको बताए । राष्ट्रिय बाणिज्य बैंक नेपालगञ्ज शाखाका सहायक प्रबन्धक अनुप न्यौपानले वडा नम्बर २२ का ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिए । उनले अहिलेलाई नेपालगञ्जका १४ वटा वडामै पुगेर भत्ता वितरण गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकासंग सहकार्य गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित सुर्खेतमा एक जना पक्राउ

११ आश्विन २०७९, मंगलवार १३:४७
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ बस्ने २१ वर्षीय ललित खत्री पक्राउ परेका हुन् । शंकास्पद अवस्थामा फेलापारी सोधपुछ गरी खानतलाशी गर्दा निजको साथबाट १६० मि.ग्रा. र प्लाष्टिक बाहेक शुद्ध ८० मि.ग्रा. लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ […]