सक्रिय बन्दै नेपालगञ्जको न्यायिक समिति

सदरलाइन संवाददाता २६ भाद्र २०७९, आईतवार १६:४३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समिति सक्रिय बनेको छ । विभिन्न विषयसंग सम्बन्धित समस्याहरुको समाधान गरी पाउँ भनी न्याय निरुपणका लागि परेका निवेदनहरु उपर कारवाही शुरु गरेर न्यायिक समितिले सक्रियता बढाएको हो ।

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावबाट नगर उपप्रमुख निर्वाचित भएर आएका कमरुद्दिन राईले न्यायिक समितिलाई सक्रिय ढंगले क्रियाशील बनाउन आफू प्रतिबद्ध रहेको बताए । उनले न्यायिक समितिमा परेका उजुरीहरु उपर नियमित इजलाश बसेर समाधानको खोजी गरिने बताए । प्रत्येक शुक्रबार इजालाश बसेर न्याय निरुपण गरिने राईको भनाई छ ।

उनी निर्वाचित भएर आएपछि पहिलोपटक गत शुक्रबार इजलाश बसेर पाँच वटा उजुरी उपर आवश्यक कारवाही अगाडि बढाएको कानुन अधिकृत माया शर्माले बताइन् । उनका अनुसार जग्गा अतिक्रमण, सार्वजनिक ठाउँमा संरचना निर्माण, पारिश्रमिक नपाएको लगायतका विषयमा न्यायिक समितिले विभिन्न निर्णय गरेको छ ।

छोराछोरीको सहमति विना मंग्नी भएर विवाह रद्द भएपछि सामानको क्षतिपूर्ति दिलाई पाउँ भनी परेको उजुरी उपर न्यायिक समितिले छलफल गरी उक्त सामान बराबरको नगद रुपैयाँ उपलब्ध गराउन भनेको छ । नेपालगञ्ज १९ का पुष्करकुमार यादवले नेपालगञ्ज १३ का जयराम यादव विरुद्ध उजुरी दर्ता गराएका थिए । यस्तै नेपालगञ्ज २ का देवेन्द्र शर्माले नेपालगञ्ज २ कै लोकेन्द्र अर्यालले बनाइरहेको संरचना विरुद्ध निवेदन दिएपछि न्यायिक समितिले अमिनबाट नापजाँच गरी आगामी शुक्रबारको इजलाशमा प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।


नेपालगञ्ज १८ का लोकेन्द्रबहादुर चन्दले दुर्गाबहादुर बहादर थापा लगायतले सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाएको भन्दै उजुरी दिएपछि सार्वजनिक जग्गा अतिक्रमण तत्काल हटाउने सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि नगर प्रहरीलाई आदेश दिइएको छ । यसैगरी नेपालगञ्ज १३ का फरिद कबडियाले पारिश्रमिक ज्याला दिलाई पाउँ भनी नेपालगञ्ज ९ का विजयविक्रम शाहका विरुद्ध दिएको उजुरीमा सुनुवाई गर्दै आगामी शुक्रबार दुबै पक्षलाई इजलाशमा झिकाउन आदेश दिएको छ ।

नेपालगञ्ज ५ का तरतिल खातुनले आइतेलाल थापा लगायतले आफ्नो जग्गा च्यापी अतिक्रमण गरेको उजुरी न्यायिक समितिमा परेकोमा शुक्रबारको इजलाशले अमिनबाट नापजाँच गरी प्रतिबेदन पेश गर्न आदेश दिएको कानुन अधिकृत शर्माले जानकारी दिइन् ।

यसअघि अघिल्लो शुक्रबार मदरसामा पढाउने एक शिक्षिकालाई जागिरबाट निकालिदिएको विषयमा परेको उजुरी उपर पनि सुनुवाई भई आवश्यक कारवाही अगाडि बढाइएको थियो । मदरसाकी शिक्षक सबिला बेगम धुनियाँले मदरसाका अध्यक्ष एवम् प्रधानाध्यापक निजामुद्दिन दर्जी विरुद्ध उजुरी दिएपछि न्यायिक समितिले आवश्यक कारवाही प्रक्रियाका लागि शिक्षा महाशाखामा लेखी पठाएको थियो । अहिले शिक्षकलाई काममा फिर्ता बोलाई आदेश कार्यान्वयनको चरणमा रहेको शर्माले बताइन् ।

न्यायिक समितिमा उप्रमुख राई संयोजक तथा राजकुमार साहु र बसन्तकुमार कनोजिया सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचबिखनविरुद्ध नितिगत तालिम सम्पन्न

२६ भाद्र २०७९, आईतवार १६:४३
नेपालगञ्ज : बाँके युनेस्को क्लबले बालअधिकार समिति तथा मानव बेचबिखनविरुद्ध समन्वय समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धिकालागि दुई दिने नीतिगत तालिम नेपालगञ्जमा सम्पन्न गरेको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा क्लबद्धारा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्र्तगत सो तालिमको आयोजना गरिएको हो । सो तालीममा नेपालगञ्ज उपमहानगरपालिका र खजुरा […]

सम्बन्धित