बाँकेमा विद्युतीय माइक्रोबस सञ्चालन

सदरलाइन संवाददाता १६ भाद्र २०७९, बिहीबार १४:५४
 

नेपालगञ्ज : बाँकेको रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय माइक्रोबस सञ्चालन गरिएको छ ।

बागेश्वरी यातायात कोहलपुरले ११ सिटे क्षमताका ४ वटा माइक्रोबस सुर्खेतको वीरेन्द्रनगरसम्म तथा एक–एक वटा गाडी बर्दियाको ठाकुरद्वारा र धनगढीसम्म सञ्चालन गरेको हो ।

कोहलपुरका विष्णु खनाल, विकास बुढाथोकी, पदम भट्टराई र रविप्रसाद कर्माचार्यले बीबी इन्टरप्राइजेज खोलेर बाँकेमा विद्युतीय माइक्रोबस भित्रएका हुन् ।

१२ वटा विद्युतीय माइक्रोबस बिक्री भएको सञ्चालक कर्माचार्यले बताए । उनले भने, ‘नेपालगञ्ज, सुर्खेत, ठाकुरद्वारा र धनगढीमा गरी ६ वटा यात्रुवाहक गाडीका रूपमा सेवा दिएका छन् ।

नेपालगञ्जका होटल र स्कुलमा गरी अरू ६ वटा गाडी चलिरहेका छन् ।’ ४४ लाख ९५ हजार रुपैयाँ पर्ने विद्युतीय माइक्रोबसमा बैंकले लगानी नगर्दा बुकिङअनुसार गाडी खरिद बिक्रीमा समस्या भएको कम्पनीले जनाएको छ ।

कम्पनीले बुकिङ भएका १५ वटा गाडी पनि बिक्री गर्न सकेको छैन । विद्युतीय माइक्रोबसलाई एक पटक चार्ज गर्दा २५० किलोमिटरसम्म गुड्ने क्षमता राख्छ ।


यति गुड्दा ६ सय रुपैयाँबराबरको विद्युत् महसुल (चार्जिङ शुल्क) तिर्नुपर्छ । इन्जिन नभएकाले गाडीमा मोबिल फेर्ने र सर्भिसिङ्ग गर्नु पर्दैन ।

मोटर र ब्याट्रीबाट चल्छ । टायर र ब्रेक लेदर मात्र फेर्दा पुग्छ । गाडी १६० को स्पिडमा गुड्छ तर जति गुडायो त्यत्ति चार्ज सकिने भएकाले चार्ज हेरेर चालकले ४०–६० को स्पिडमा मात्र गुडाउँछन् ।

यात्रा आरामदायी लाग्छ । यी गाडीको मुख्य समस्या भनेकै अहिले चार्जिङ सेन्टरको अभाव हो । कोहलपुरमा मात्र चर्जिङ सेन्टर छ । बीबी इन्टरप्राइजेजले कोहलपुर बसपार्क नजिकै विद्युतीय चार्जिङ पोइन्ट एन्ड रिफ्रेस सेन्टर खोलेको छ । कोहलपुर नगर विकास समितिको जग्गा १० वर्षका लागि लिजमा लिएर सेन्टर बनाइएको छ ।

जहाँ अहिले गाडी चार्ज मात्र हुन्छ । यात्रीलाई चिया, खाजा र खाना खुवाउन रेन्टुरेन्ट, शैलुनलगायतको सुविधा दिने तयारी भइरहेको छ ।

‘डिजेल, पेट्रोल केही पनि नलाग्ने भएकाले रिजर्भमा जाँदा पनि हाम्रो गाडी सस्तो पर्छ । चार्जिङ सेन्टरको अभावमा यी गाडी धेरै लामो दूरीमा जाँदैनन’, माइक्रोबसका सञ्चालक प्रेम दर्लामी सुझाव दिन्छन्, ‘तत्काल नेपालगञ्ज र सुर्खेतमा मात्र चार्जिङ सेन्टर खुलेको भए हामीलाई निकै राहत हुन्थ्यो । चार्जिङ सेन्टर जति धेरै ठाउँमा खुल्छ । त्यत्ति धेरै ठाउँमा सुविधा दिन सकिन्छ ।’ विद्युतीय गाडी आयात गर्ने कम्पनीले भने बैंकले लगानी नगरेकै कारण धेरै वटा चार्जिङ सेन्टर खोल्न नसकेको जिकिर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्लास्ट रोगले जुम्लाको मार्सी धानबाली नष्ट हुने अवस्थामा

१६ भाद्र २०७९, बिहीबार १४:५४
नेपालगञ्ज : नेपालको सर्वाधिक अग्लो स्थानमा उत्पादन हुने जुम्लाको मार्सी धानबालि ब्लास्ट रोगले नष्ट हुने अवस्थामा पुगेको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ को गौतमवाडामा रहेको धानको ज्युलोको धानबाली ब्लास्ट रोगले सखाप भएको छ । रोग लागेपछि त्यहाँका किसानलाई बाँकी बाली कसरी जोगाउने भन्ने चिन्तामा छन् । त्यहाँ असारमा धान रोपिएको […]