धारा नेपालगञ्ज म्याराथन अन्तर्राष्ट्रिय मापदण्डको हुने

सदरलाइन संवाददाता १४ भाद्र २०७९, मंगलवार १३:२८
 

नेपालगञ्ज : धारा नेपालगञ्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वर्ल्ड एथ्लेटिक्सअन्तर्गत एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ (एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगञ्ज म्याराथनको नाप लिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट शुरु हुने नेपालगञ्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि बानियाभार भएर पुनः सोही रुट भई बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ ।

नेपालगञ्जका मेयर प्रशान्त विष्टले कोर्ष मापनका लागि आमिर सान्डिवानलाई स्वागत गर्दै सफलताको शुभकामना दिए । ‘नेपालगञ्ज म्याराथनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुसी लागेको छ,’ उनले भने, ‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’

म्याराथनको आधिकारिक दौडको दूरी ४२.१९५ किलोमिटर हो । नेपालगन्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुला, पाँच किलोमिटर महिला खुला तथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । यसमा म्याराथन, हाफ म्याराथन, दश किलोमिटर र पाँच किलोमिटर अलग अलग सर्टिफिकेट आउने सान्डिवानले बताए ।


कोर्ष मापनको सुरुवातमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिसमेत थिए । एम्सको मान्यतापछि कोर्ष अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ ।

‘एम्सबाट प्रमाणित भएपछि विदेशी धावक बढ्ने हुनाले खेल–पर्यटनमा वृद्धि हुने अपेक्षा लिएको छु,’ मेयर विष्टले भने, ‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुनु खुसीको कुरा हो ।’ नेपालगन्ज म्याराथन हरेक वर्ष मंसिर महिनाको पहिलो शनिबार आयोजना हुने गर्दछ । यस वर्ष मंसिर ३ गते तय भई तयारी अघि बढिसकेको थियो । तर, ४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तय भएकाले यसपटकको संस्करण २४ मंसिरमा सारिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

सरकार र तत्कालीन माओवादीबीच ५ मंसिर २०६३ मा भएको बृहत् शान्ति सम्झौताको स्मरण गर्दै मंसिरको पहिलो साता नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ । ‘लोकतन्त्रमा आमनिर्वाचन महापर्व हो, महापर्व आम मानिसको चासोको विषय हो,’ क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले भने, ‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौँ ।’

सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नाप लिइसकेका छन् । अब नेपालमा तीनवटा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युनेस्को क्लबद्वारा शिक्षकलाई बालअधिकार तालिम

१४ भाद्र २०७९, मंगलवार १३:२८
नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्धारामा स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको थियो । चार दिने सो तालिममा बाँकेका ७ वटा विद्यालयका १४ जना शिक्षक र बर्दिया जिल्लाका बाल […]