बाँकेको नरैनापुरमा बैकल्पिक बाली लगाउन सुझाव

सदरलाइन संवाददाता ९ भाद्र २०७९, बिहीबार १३:५०
 

नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकामा खडेरीका कारण रोपाई नभएपछि कृषि विज्ञले वैकल्पिक बाली लगाउन सुझाव दिएका छन् । विज्ञसहितको सल्लाहमा किसानका लागि मुख्य गरी कोशेबाली लगाउन भनिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुरलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । यहाँ १५ प्रतिशत मात्रै धान खेती भएको छ । रोपिएको धान पनि पानी नपर्दा सुकेको छ । अब गहुँखेती गर्नुअगाडि कोशेबाली सम्भव भएकाले त्यस्ता बाली लगाउन सुझाव दिइएको गाउँपालिकाको कृषि शाखाका प्रमुख सदन भण्डारीले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालका अनुसार सुक्खा क्षेत्रमा पानी कम भए पनि खेती हुने, छोटो अवधिको मासखेती गर्न किसानलाई सुझाव दिइएको छ । यसबाहेक कोशेबाली खेतीको रुपमा तेलहन बाली अर्थात तोरी खेती पनि गर्न सकिन्छ ।


किसानले नगदे बालीको रुपमा बन्दागोभी पनि लगाउन सक्ने विज्ञले बताएका छन् । यसअघि सुक्खा क्षेत्रको अवस्थाबारे बुझ्न कृषि अनुसन्धान निर्देशनालय, खजुराका कृषि वैज्ञानिक रामदास चौधरी, कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख ढकाल, बागवानी अधिकृत रामप्रसाद यादव र किसान–२, परियोजनाका टुकनारायण अर्यालसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो ।

बाँकेको नरैनापुरमा झण्डै ९० प्रतिशत क्षेत्रमा धानखेती हुने गरेकोमा यसपाली खडेरी परेपछि रोपाइँ हुन सकेन । नरैनापुरमा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो ।

अहिले रोपाई भएकोमध्ये पनि आधाजसो धान पानी नपाएर मर्ने अवस्थामा पुगेको छ । पालिकामा २ सय ६० हेक्टरमा सिँचाइ छ तर पानीको स्रोतसमेत सुकेकाले समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी जवान आधारभुत तालिमको दीक्षान्त समारोह सम्पन्न

९ भाद्र २०७९, बिहीबार १३:५०
नेपालगञ्ज : प्रहरी जवान आधारभुत तालिम ९–१३८ औं समुहको दीक्षान्त समारोह बिहीबार नेपालगञ्जमा सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा उक्त समारोह सम्पन्न भएको हो । कर्णाली प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक(डिआईजी) पोसराज पोखरेलको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह गरिएको थियो । सो क्रममा कर्णाली प्रदेश […]

सम्बन्धित