बाँकेमा खडेरी, खेतमा धाँजा फाँट्न थाल्यो

सदरलाइन संवाददाता ३ श्रावण २०७९, मंगलवार १४:४५
 

नेपालगञ्ज : साउन महिनाको पहिलो सातासम्ममा पनि बाँकेमा मनसुन सक्रिय नहुँदा बियाड सुक्ने र खेतबारीमा धाँजा फाँट्न थालेको छ । साउन शुरु भैसक्दा समेत वर्षा नहुँदा बाँकेमा हालसम्म ५५ प्रतिशतभन्दा बढी खेत बाँझै छन् ।

जिल्लामा हालसम्म ४५ प्रतिशत मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । सबैभन्दा बढी रोपाई सिक्टाको नहरले धेरै ठाउँ छोएको राप्तीसोनारी गाउँपालिकामा भएको केन्द्रले जनाएको छ ।

नहरका कारण राप्तीसोनारीमा सबैभन्दा बढी ८५ प्रतिशत रोपाई भएको र नरैनापुर गाउँपालिकामा सिँचाइ सुविधा नहुँदा हालसम्म ५ प्रतिशत मात्रै रोपाई भएको केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बताए ।

गत वर्ष यो समयमा बाँकेमा करिब ९७ प्रतिशत रोपाइँ सम्पन्न भैसकेकोमा अहिले ४५ प्रतिशत रोपाई भएको बताए । प्रमुख ढकालका अनुसार जिल्लामा ४५ प्रतिशत धान रोपाइँ भए पनि मनसुनी वर्षा नहुँदा अधिकांश खेतमा धाँजा पर्न थालेको छ । जसोतसो रोपाइँ गरेको धान खेत सुक्दै गएपछि धाँजा परेको हो ।


वर्षा नहुँदा नरैनापुर ४ का नरेश बर्माको बोरिङ गरेर रोपाई भएको खेत पनि धाँजा फाटेर चिरिएको छ । आकाशे पानी नपरेसम्म धान उत्पादन हुन नसक्ने बर्माले गुनासो गरे । उनले बियाडसमेत सुकेर कामै नलाग्ने हुन लागेको बताए । केही दिन वर्षा नभए धान उत्पादन धेरै कम हुने उनको भनाइ छ ।

साउनको पहिलो सातासम्म पानी नपरेकाले करिब १५ प्रतिशत धान उत्पादनमा कमी आउने केन्द्र नेपालगञ्जको अनुमान छ । सो कार्यालयका अनुसार किसानले लगाएको धान मर्न थालेकोले लगानी खेर जाने देखिएको छ । आकाशे पानीको भरमा रोपाइ गर्ने कृषक चिन्तामा छन् ।

धान खेतीका लागि पर्याप्त पानी चाहिने बेलामै वर्षा नभएपछि जिल्लाका अधिकांश स्थानको रोपाई प्रभावित भएको जनाउँदै डुडुवाका किसान जगदीश मौर्यले अत्यधिक गर्मी र पानी अभावका कारण जेनतेन लगाएको धान पनि सुक्न थालेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’को बृत्तचित्र सार्वजनिक

३ श्रावण २०७९, मंगलवार १४:४५
नेपालगञ्ज : नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार स्व. पन्नालाल गुप्त चाचाजीका बारेमा पत्रकार सन्तोष रेग्मीले बनाएको बृत्तचित्र चाचाजी युट्युबमा सार्वजनिक भएको छ । पत्रकार रेग्मीको लेखन–निर्देशन एवं निर्माण चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको थियो । चाचाजी उपनामबाट चर्चित पत्रकार गुप्त पञ्चायतकालको कठोर समयमा तत्कालीन शासकका धाक, धम्की र शारीरिक […]