हालै सम्पन्न स्थानीय तहको निर्वाचनबारे नेपालगञ्जमा अन्तरक्रिया

सदरलाइन संवाददाता १४ असार २०७९, मंगलवार १३:५०
 

नेपालगञ्ज : हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहितरुपमा सम्पन्न भएको नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बाताबरणमा सम्पन्न गर्न सबै राजनीतिक दल तथा आम नागरिकको भुमिका महत्वपूर्ण हुने बताए ।

सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ मा मानव अधिकारका सवालहरु, सकारात्मक पक्ष, आइपरेका समस्या तथा चुनौतीहरु र आगामी निर्वाचनमा सुधार गर्नुपर्ने बिषयहरु सम्बन्धि अन्तरक्रियामा उनीहरुले सुरक्षित तरिकाले मतदान गर्ने बाताबरण निर्माण हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरेका थिए ।

अन्तरक्रियामा जिल्ला अदालतका मुख्य न्यायाधीश खडानन्द तिवारीले हालै सम्पन्न निर्वाचनका चुनौती, सुधार गर्नु पर्ने बिषय, आगामी निर्वाचनमा गर्नु पर्ने कामका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

तिवारीको प्रस्तुतिमा मतदान केन्द्रलाई सुधार गर्नु पर्ने देखिएको छ । मतदान केन्द्र सांघुरा भएका कारण मतदान गर्न आउने मतदातालाई सकस हुने उल्लेख छ । उनले निर्वाचनका बेला आउने कतिपय समस्या सम्बोधन गर्नै गाह्रो रहेको बताए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनमा जोड दिए । उनले मौन अवधिमा राजनीतिक दलहरुले गर्ने अशोभनीय गतिविधि रोक्नु पर्ने बताए । त्यसमा राजनीतिक दलकै भुमिका महत्वपूर्ण हुने उनको भनाई छ ।

जिल्ला न्यायाधीवक्ता बासुदेव शर्माले मतदानस्थलको सुधार आबश्यक रहेको बताए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफु खटिएको जानकी गाउँपालिकामा रहेका मतदानस्थलहरुको उदाहरण दिँदै उनले यस्तो सुधारको माग गरे ।


जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरुक्षाकर्मीले एक्लै सम्भव नभएकाले सबैको सहयोग र समन्वय जरुरी रहेको बताए ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा तेस्रो तथा समलिङ्गीहरुले मतदान गर्न नपाएको गुनासो सुनाए । नागरिकता नपाएकै कारण तेस्रो तथा समलिङ्गीहरु मतदानबाट बंचित हुनु परेको उनीहरुको भनाइ थियो ।

यस्तै मतदान केन्द्रहरु अपाङ्गतामैत्री नभएको पनि गुनासो उठेको थियो । निर्वाचनमा खटिने कर्मचारीका समस्या देखि मतदाताले झेल्नु परेका व्यबधानबारे कार्यक्रममा छलफल भएको थियो ।

मानव अधिकार आयोगका प्रमुख झंकर रावलको सभापतित्वमा भएको कार्यक्रममा अधिबक्ता प्रलाहद बहादुर कार्की, पदम पाण्डे, अपांगता अधिकारकर्मी भाबुकजंग थापा र भोलानाथ त्रिपाठी, महिला अधिकारकर्मी कमला पन्त र मैमुना सिद्दिकी, दलित अधिकारकर्मी निर्मला सुनार, समलिङ्गी तथा तेस्रो लिङ्गी अधिकारकर्मी परिना चौधरी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

राष्ट्रिय मानव अधिकार नेपालगञ्जको आयोजना तथा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग, आम निर्वाचन पर्यवेक्षण समितिको समन्वय र सहकार्यमा अन्तरक्रिया गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन दिनसम्म देशैभर मुसलधारे वर्षा

१४ असार २०७९, मंगलवार १३:५०
नेपालगञ्ज : मनसुनी वायुको प्रभावले मंगलबारदेखि बिहीबारसम्म देशभर मुसलधारे वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको विज्ञप्ति अनुसार सातै प्रदेशमा सामान्यदेखि भारी वर्षा हुने जनाएको छ । अविरल वर्षासँगै नदीहरुमा पानीको सतह बढ्ने भएकाले उच्च सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ । साना ठाडो […]