थारु समुदायलाई रगतजाँच गरेर विवाह कुण्डली मिलाउन डाक्टरको सुझाव

सदरलाइन संवाददाता २ असार २०७९, बिहीबार १३:४६
 

नेपालगञ्ज : सिकलसेल रोग रोकथामका लागि थारू समुदायलाई रगतजाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरले सुझाव दिएका छन् ।

सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको छ । यतिबेला बाँकेका थारू गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्याप्छ्याप्ती बाँडिएको छ ।

सिकलसेल विशेषज्ञ डा.राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकल सेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ । पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दापनि सोच विचार गर्नुपर्ने भनिएको छ ।

बाहक–बाहक, पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । ‘अहिलेको पुस्तामा रोग देखिएको छैन। तर, उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ’, स्वास्थ्यकर्मीले भनेका छन्, ‘बिरामी भनेको त लक्षण देखिएको भइहाल्यो ।’


विवाह गर्दा चिना हेर्ने गरिन्छ । थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने भएको छ । सन्तान, दर सन्तानलाई सिकलसेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनु पर्ने भएको छ । बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र बाहक पत्ता लगाएर उनीहरूलाई विवाह कुण्डलीका बारेमा जानकारी दिने काम भइरहेको बताए । थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेलका नौ सय जना बिरामीले भेरी अस्पतालबाट औषधि खाइरहेको डा.पाण्डेले जानकारी दिए ।

उनले पश्चिमका विभिन्न जिल्लामा तीन हजार आठ सय तीन जनाले नियमित औषधी खाइरहेको बताए । डा.पाण्डेले सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगतजाँच गरेर कुण्डली मिलाई विवाह गर्दा नियन्त्रण गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिक्टा सिंचाइ आयोजनाको काम कछुवा गतिमा

२ असार २०७९, बिहीबार १३:४६
नेपालगञ्ज : राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य शुरु भएको १८ वर्ष बित्दा ७० प्रतिशत मात्र काम सम्पन्न भएको छ । सिक्टा सिंचाई आयोजनाको काम कछुवा गतिमा रहेको छ । हाल सरकारले २४ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । आवश्यकताका आधारमा भन्दा पनि लहडका […]