बाँकेका ट्रक व्यवसायी आन्दोलित

सदरलाइन संवाददाता २ असार २०७९, बिहीबार १३:१९
 

नेपालगञ्ज : बाँकेका एक हजार बढी ढुवानी व्यवसायीले आफ्ना ढुवानीका साधन थन्क्याएर बिहीवारदेखि आन्दोलनमा उत्रिएका छन् । बाँकेका ट्रक व्यवसायीहरुले सरकारी रबैयाले आफ्नो व्यवसाय धराशायी भएको भन्दै आफ्ना ढुवानीका साधनहरु घर तथा ग्यारेजमा थन्क्याएका हुन् ।

सरकारले व्यवसायीको सवालमा नीति बनाउन नसक्नु र बनाएका नीति पनि कार्यान्वयन गर्न नसक्नुले ट्रक व्यवसायी पलायन हुने अवस्था आएपछि बाध्य भएर गाडीहरु थन्क्याउनु परेको नेपालगञ्ज ट्रक व्यवसायी समितिका अध्यक्ष महेन्द्र मल्ल ठकुरीले बताए ।

राज्यको कर प्रणाली चुस्त दुरुस्त नहुनु, इन्धन र गाडीको अस्वभाविक मूल्यवृद्धि, नीतिगत उल्झन लगायतका कारण अर्वौं लगानी रहेको ट्रक व्यवसाय पलायनको अवस्थामा पुगेका मल्लको गुनासो छ ।

इन्धन र गाडीका पाटपूर्जाको मूल्यवृद्धि हुँदा सरकारले ढुवानी भाडा नबढाएको भन्दै कोहलपुर ट्रक प्रालिका अध्यक्ष यज्ञ बहादुर ओलीले ढुवानीका साधान चलाउन सक्ने अवस्था नरहेको बताए । सरकारले निर्धारण गरेको भाडा समेत आफूहरुले पाउन नसकेको उनको दुःखेसो छ ।


पछिल्लो पटक सरकारले तराईमा प्रति किलोमिटर ७ रुपैयाँ ६२ पैसा र पहाडमा प्रति किलोमिटर १४ रुपैयाँ ४८ पैसा ढुवानी भाडा निर्धारण गरेको छ । यही भाडा पनि सरकारले ढुवानी व्यवसायीलाई दिलाउन सकेको छैन । कम मूल्यमा आफूहरुले ढुवानी गरेपनि व्यापारीहरुले भने सरकारले निर्धारण गरेकै मूल्यमा उक्त सामग्रीमा ढुवानी जोडेर जनता लुट्ने काम गरेको व्यवसायीहरुको गुनासो छ ।

नियमनकारी निकाय मौनता साँधेर बस्दा व्यापारीहरु मोटाउने र ढुवानी व्यवसायी तथा जनता ठगिनुपर्ने अवस्था आएको भेरी ट्रक प्रालिका महासचिव रत्नबहादुर थापाले बताए ।

ट्रक व्यवसायी चुंगी कर, सडक कर र गद्दी खर्चका नाममा पीडित हुनु परेको दुखेसो उनीहरुको छ । उनीहरुले आयकर र अग्रिम करलाई व्यवहारिक बनाउन माग गरेका छन् । बाँकेमा करिब एक हजार ट्रक व्यवसायी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नक्कली नोट छाप्ने मेशिनसहित दुई जना पक्राउ

२ असार २०७९, बिहीबार १३:१९
कैलाली : कैलालीमा नक्कली रुपैयाँ छाप्ने मेसिन सहित २ युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय रामदास राना र अनुराग राना पक्राउ परेका हुन् । नक्कली नोट छाप्ने मेशिनसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको साथबाट नक्कली १ हजारको […]