जिल्ला समन्वय समिति बाँकेमा ज्ञानेन्द्र चौधरी निर्वाचित

सदरलाइन संवाददाता २७ जेष्ठ २०७९, शुक्रबार १३:५२
 

नेपालगञ्ज : जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार कुर्मीलाई पराजित गर्दै चौधरी प्रमुखमा निर्वाचित भएका हुन् । चौधरीले १३ मत र कुर्मीले ३ मत पाए । चौधरी यसअघि जिल्ला समन्वय समितिमा उपप्रमुख थिए । उनी डुडुवा १ बाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै महिला सदस्यमा जसपाबाट नेपालगञ्ज ५ की तरुन्नुम बानो शेष, माओवादी केन्द्रबाट नेपालगञ्ज ४ की रेवती दमाई र नेकपा एकीकृत समाजवादीबाट बैजनाथ ५ की चमेली थरुनी निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलहरुबीच भएको भागबण्डालाई अस्विकार गरेको जसपाले प्रमुख र महिला सदस्यमा छुट्टै उम्मेदवारी हालेको थियो । आफ्नो स्पष्ट बहुमत हुँदाहुँदै पनि गठबन्धनकारी दलहरुलाई समेट्दै कांग्रेसले आफूले प्रमुख र उपप्रमुखसहित ३ जना खुला र एक दलित/अल्पसंख्यक सदस्य राखेर जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई १/१ जना महिला सदस्य दिएको थियो ।

उपप्रमुख, दलित/अल्पसंख्यक र खुला सदस्य भने यसअघि नै निर्विरोध भइसकेका थिए । कोहलपुर ५ बाट वडा सदस्यमा निर्वाचित भएकी नेपाली कांग्रेसकी सीता कार्की उपप्रमुखमा निर्विरोध भइसकेकी थिइन् ।

यस्तै दलित/अल्पसंख्यक सदस्यमा पनि निर्विरोध भएको थियो । नेपालगञ्ज २ का जगदिश बाल्मिकी निर्विरोध भएका थिए । खुला सदस्य पनि तीन जना नै निर्विरोध भए । नेपालगञ्ज ५ का उदय नारायण मिश्र, जानकी ५ का जुल्फेकार अली मनिहार र कोहलपुर १५ का सन्त कुमार थारु निर्विरोध भएका हुन् । तीन जना नै कांग्रेसका हुन् । बाँकेमा कांग्रेसका १२, जसपाका ३ र माओवादीका १ जना मतदाता हुन् ।


गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समिति प्रमुखमा उम्मेदवार हुन पाउँछन् । जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि मतदान भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै गर्न पाउँछन् ।

जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुन्छन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने व्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरु समेत जिल्ला समन्वय समितिमा उम्मेदवार हुन पाउँछन् ।

अन्य तीन जना सदस्यहरु गाउँपालिका र नगरपालिकाबाट निर्वाचित सदस्यहरुबाट उम्मेदवार भएर आउँछन् । उनीहरु पनि जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख जस्तै गरी निर्वाचित हुनुपर्ने ऐनमा व्यवस्था छ ।

जिल्ला समन्वय समिति गठन भएपछि अब जिल्ला सभा गठन हुनेछ । जिल्ला सभाको प्रमुख र उपप्रमुखमा जिल्ला समन्वय समितिकै प्रमुख र उपप्रमुख हुनेछन् भने गाउँपालिका र नगरका प्रमुख उपप्रमुखहरु पदेन सदस्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

२७ जेष्ठ २०७९, शुक्रबार १३:५२
नेपालगञ्ज : बाँकेमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का ३६ बर्षीय सञ्जय दिवानलाई प्रहरीले पक्राउ गरेको हो । चेक अनादर मुद्दामा बाँके जिल्ला अदालतले जेठ ६ गते उनलाई १ बर्ष कैद तोकेको थियो । तर, उनी फरार थिए । जिल्ला प्रहरी […]