बाँके(नरैनापुर) : बाँकेको नरैनापुर गाउँपालिकामा विवाद उत्पन्न भएपछि मतणना पुनः सुरु गरिएको छ । यसअघि शनिबार मध्यराती २ हजार ७ मतगणना हुँदा विवाद भएपछि स्थगित हुन पुगेको थियो ।
नेपालगञ्जबाट नयाँ कर्मचारी पुगेर मतगणना पुनः सुरु गरेका छन् । पछिल्लो मतगणना अनुसार अध्यक्ष पदमा जनता समाजवादी पार्टी(जसपा)का इस्तियाक अहमद शाहले सुरुवाती अग्रता लिएका छन् ।
शाहले ३१७ मत प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामचन्द्र मौर्यले ३०८ र नेकपा एमालेकी पदमावती यादवनीले १ सय ६६ मत प्राप्त गरिन् ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी अतिकुन निसाले सुरुवाती अग्रता लिएकी छन् । उनले २४९ मत प्राप्त गरेकी छन् । यसैगरी जनता समाजवादी पार्टी(जसपा)की जयन्तिदेवी श्रीवास्तवले २०३ र नेकपा एमालेका पञ्चराम यादवले १७३ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्म ९ सय मत गणना भएको छ ।
नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित जयकिसान माध्यामिक बिद्यालयको क र ख मतदान केन्द्रको गणना चलिरहेको छ ।