नेपालगञ्ज : बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनको लागि बाँकेका विभिन्न पालिकामा निर्वाचन गराउन खटिएका मतदान आधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीहरु आवश्यक निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन कार्यालयबाट बुझेर आफुलाई खटाईएको मतदान केन्द्रतर्फ लागेका छन् ।
बाँकेका ८ वटै स्थानीय तहका १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थलमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरुले मतदानको लागि आवश्यक पर्ने विभिन्न समाग्रीहरु बुझेर आ–आफुलाई खटाईएको मतदान केन्द्रतर्फ लागेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।
उनले केहीकेही मतदान केन्द्रको मतपत्र मात्र बाँकी रहेकोले आफुलाई खटाईएको मतदान केन्द्र र स्थलको अवस्था अध्ययन गरेर निर्वाचन सामाग्री राख्नको लागि सुरक्षित स्थान तयार गरी बुधबारसम्म सबैले लिएर जाने बताए ।
यसैगरी बाँकेका आठवटै पालिकामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न गराउन २ हजार २ सय निजामती कर्मचारी ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनले निर्वाचन शान्तिपूर्ण तरिकाबाट सम्पन्न गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई स्पष्ट निर्देशन दिएको बताए ।