नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकामा नेकपा एमालेले घरदैलोलाई तिब्रता दिएको छ । अध्यक्षका उम्मेदवार सरोजकुमारी यादव, उपाध्यक्ष उम्मेदवार शकिल खान र वडा नं. ६ का वडाध्यक्ष उम्मेदवार मोहनराम मिश्रसहित सबै उम्मेदवारहरुले बुधवार पनि विहानैदेखि घरदैलो अभियान शुरु गरेका छन् ।
एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार यादवसहित सबै उम्मेदवारहरुले सबैभन्दा पहिलो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, वित्तिय ब्यवस्थापन, उद्यमशिलता र रोजगारी, सामाजिक सुरक्षा, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहोरमैला ब्यवस्थापन तथा सरसफाई, विपद् ब्यवस्थापन, सामाजिक न्याय, समावेशिता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद, कृषिलगायतका प्रतिबद्धता लिएर घरदैलोलाई निरन्तरता दिएका हुन् ।
मतदाताहरु माझ स्थानीय समस्या समाधानका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता उम्मेदवारहरुले व्यक्त गरेका छन् । मतदाताहरुसंगको भेटघाट कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार मिश्रले आफू विजयी भएपपछि स्थानीयको समस्यालाई जति सक्यो छिटो हल गरी विकासको गति बढाउने बताए ।