नेपालगञ्ज : अधिकांश महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्व भागवण्डा टुंग्याएको सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको विवाद मिलाउन नसक्दा बैठक लम्बिएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्जको नेतृत्व नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।
मंगलबार राति ९ वटा उपमहानगरपालिकाको नेतृत्वको भागवण्डा टुंग्याएको सत्तारुढ गठबन्धनमा जनकपुर र नेपालगञ्जमा भने विवाद थियो । बुधबार जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले लिने सहमति भएको बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले बताए । तर नेपालगञ्जमा भने कांग्रेस र जसपा दुबैले दाबी छाडेका छैनन् ।
‘अरु सबै मिलिसक्यो, नेपालगञ्जको बारेमा कुरा अड्किएको छ,’ पौडेलले भने, ‘जसपाले नेपालगञ्ज छाड्न नमान्दा कांग्रेस र जसपाबीचमा कुरो मिलेको छैन ।’ मंगलबारको बैठकमा नेपालगञ्ज नेपाली कांग्रेसलाई छाडेर जनकपुर लिन जसपा तयार भएको थियो । तर, नेपाली कांग्रेसले जनकपुर पनि छाड्न मानेको थिएन ।
बुधबारको बैठकमा जनकपुर छाड्न कांग्रेस तयार हुँदा जसपाले नेपालगञ्ज पनि छाड्न नमानेपछि लिखित सहमति सार्वजनिक गर्न ढिलाइ भइरहेको पौडलेले बताए ।
गठबन्धनबीच स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सहमति भएको छ । त्यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादीले वीरगंज महानगरपालिकाको नेतृत्व लिने सहमति भइसकेको छ ।
उपमहानगरपालिकातर्फ नेपाली कांग्रेसले धरान, इटहरी, कलैया, तुलसीपुर, बुटवल र धनगढीको नेतृत्व लिने सहमति भइसकेको छ । त्यस्तै माओवादी केन्द्रले जितपुर–सिमरा र घोराही, एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको नेतृत्व लिने सहमति पनि भइसकेको नेताहरुले बताएका छन् ।(अनलाइनखबर)