खेलकुद क्षेत्रका सरोकारवालासँग बजेटका बारेमा छलफल

सदरलाइन संवाददाता १ बैशाख २०७९, बिहीबार ११:०३
 


काठमाडौं  : आगामी आर्थिक बर्ष ०७९–८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि सुझाव लिएको बताए । ‘सबैले राम्रो सुझाव दिनुभएको छ । यी सबै बिषय समेट्ने मन छ तर साधन, स्रोतले नभ्याउला की भन्ने लाग्छ’ उनले भने, ‘यदपी, खेलकुद क्षेत्रले खुसी मनाउने गरी केही नयाँ कार्यक्रम ल्याउने गृहकार्य भइरहेको छ ।’

उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए । छिटो प्रतिफल दिने (पुरस्कार जित्ने संभावना उच्च भएका खेलहरुका लागि ) पूर्वाधार निर्माणका योजना बनाएर अगाडी बढाउनुपर्ने बताए । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २८, २९ र ३० जेठमा आयोजना गर्ने निर्णय गरेको र सो प्रतियोगिता भव्य रुपमा आयोजना गर्न बजेटको कुनै समस्या हुन नदिने प्रतिबद्धता जनाए ।

‘मुलुकमा एउटा खेलकुद विश्वविद्यालय छैन । यसको जरुरी परेको देख्छु’ उनले भने, ‘यो भयो भने खेलकुद सम्बन्धी नीति निर्माण गर्न, अध्ययन गर्न, नयाँ खेलाडी जन्माउन सहयोग पुग्छ ।’ उनले व्यवसायीक भइसकेका फुटबल, क्रिकेट जस्ता खेलहरुको पनि पूर्वाधार अभावले थप व्यवसायीकरण गर्न नसकिएको बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले एउटै खेलका लागि पूर्वाधार निर्माणमा ठूलो लगानी गर्न सक्ने अवस्थामा नरहेको जानकारी दिदै धेरै खेलहरु खेलाउन सकिने रंगशाला वा कभर्ड हल निर्माण सरकारको प्राथमिकतामा रहेको बताए । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताए ।


कार्यक्रममा राखेपका पूर्व सदस्य सचिव जीवनराम श्रेष्ठले सरकारले खेलकुदलाई अनुत्पादक क्षेत्रको रुपमा हेर्ने गरेको भन्दै खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । खेलकुद क्षेत्रलाई सक्षम बनाउने गरी बजेट बिनियोजन हुनुपर्ने उनको सुझाव थियो ।

पूर्व खेलाडी दीपक श्रेष्ठले राष्ट्रिय खेलकुद प्रतियोगिता र एसियन गेम्स नजिकै आइसकेकाले तयारी गर्नुपर्ने र यस्ता प्रतियोगिताका लागि राम्रो बजेट राख्नुपर्ने सुझाव दिए । उनले बजेट निर्माणका सन्दर्भमा पहिलो पटक खेलकुद क्षेत्रका प्रतिनिधि बोलाएर सुझाव लिएको भन्दै अर्थ मन्त्रालयलाई धन्यवाद दिए ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलकुदलाई ब्राण्डिङ गर्नुपर्ने, सातै प्रदेशमा ठूला पूर्वाधार बनाउनुपर्ने, स्थानीय–प्रदेश र संघले राष्ट्रिय खेलकुद प्रतियोगिताको पिरामिड बनाएर काम गर्नुपर्नेलगायतका सुझाव दिए । पूर्व क्रिकेटर बिनोद दासले खेलकुदको बजेटलाई लगानीका रुपमा हेर्नुपर्ने बताए ।

  कार्यक्रममा उपस्थित नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले क्रिकेटका लागि कम्तीमा दुई ठूला रंगशाला हुनुपर्ने सुझाव दिदै  भने–‘अन्तर्राष्ट्रिय  मापदण्डको कम्तीमा दुई ठूला रंगशाला भयो भने अन्य देशलाई नेपालमा ल्याएर प्रतियोगिता गरी ठूलो लाभ लिन सक्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक दुर्घटनामा ज्यान गुमाएका परिवारजनद्वारा बीपीचोकमा टायरबालेर प्रदर्शन

१ बैशाख २०७९, बिहीबार ११:०३
नेपालगञ्ज  : नेपालगञ्जको सुर्खेतरोडमा गत सोमबार रातीकारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले बिपि चोकमा टायर बालेर प्रदर्शन गरेका छ्न । प्रदेश ३– ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको वीपीचोक र धम्बोझी चोकको बीचमा ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ […]