नेपालगञ्ज : बाँकेमा सशस्त्र प्रहरीका सइको कुटाइबाट एकजना सर्वसाधरण मानिसको कानको जाली फुटेको छ । डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित सशस्त्रको विओपी कालाबन्जरमा कार्यरत सइ हर्क थापाको कुटाइबाट स्थानीय मनोरथ धोवीको वाँया कानको जाली फुटेको हो ।
डुडुवा–६ मा ऐलानी जग्गा अतिक्रमणमा छ । उक्त अतिक्रमित जग्गा हटाउने बिषयमा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी शनिवार हिरमिनिया पुगेका थिए । धोवीले अध्यक्ष चौधरीसँग हटाउने भए सबैलाई हटाउन र नत्र व्यक्ति छानेर नहटाउन आग्रह गरे ।
त्यहीक्रममा अध्यक्ष चौधरीले धोवीलाई सम्झाउन सशस्त्रका सइ हर्क थापालाई भनेका थिए । अध्यक्ष चौधरीको इशारामा कुटपिट गरिएको पीडितको भनाई छ । सइ थापाले बढी बोलेको भन्दै धोवीलाई कुटेको वडाअध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।
कुटाइबाट कान असाध्यै दुखेपछि धोवीलाई उपचारका लागि भेरीमा ल्याइएको थियो । चिकित्सकले कानको जाली फुटेको बताएको वडाअध्यक्ष मिश्रले बताए ।
विओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगीले पनि घटना स्वीकार गरेका छन् । उनले धोवीले जाड खाएर तथानाम बोल्न थालेपछि सई थापाले सम्झाउनेक्रममा घटना भएको दावी गरे । उनले घटनालाई सामान्यरुपमा लिँदै उपचार गरिदिने बताए ।