बर्दिया बढैयातालका जुठिमाया, धनशरा र धनमाया भन्छन : राहतले ज्यान बचायो !

कोभिड–१९ आपतकालिन प्रतिकार्य पूर्णलाभ परियोजनाले धानेको जीवन कथा

रुद्र सुवेदी / लक्ष्मी तिमिल्सेना १५ माघ २०७८, शनिबार १९:०६
 

बढैयाताल (बर्दिया) : बर्दिया बढैयाताल गाउपालिका वडानं.८ शिवालय टोलकी ७० वर्षिया जुठिमाया गुरुङ्ग एकल महिला हुन । सम्पतिका नाममा रहेको ऐलानी जमिनमा बनेको खरले छाएको झुप्रो छ । त्यो पनि ठूलो हावाहुरी आउदा र झरी पर्दा ज्यान जोगाउन अर्कैको घरमा आश्रय लिनु पर्ने बाध्यता छ उनलाई ।

जीवनको ७०औ वसन्त पार गर्दै गरेकी जुठिमायाका हुर्केका सन्तान आ–आफ्नो बाटो लागेपछि बुढेसकालमा उनको एक मात्र साहरा उनी आफै हुन् । तर, पनि नजिकै घर भएकी उनकी कान्छी छोरी भने बेला–बेलामा उनको हालखबर सोध्न र आफुले सकेको मद्दत गर्न आई रहन्छिन् ।

नजिकै रहेकी छोरीलाई देखाउदै भन्छिन–‘ यो कान्छी छोरी हो । यसले दुख बिमार पर्दा आफुले सकेको हेर विचार गर्छे ।’ उनका छोरा बुहारी पनि छन तर, कता छन थाहा छैन । छोराबुहारी सम्पर्कमा नआएको १०–१२ वर्ष भएको उनी बताउछिन ।

जुठिमायाले आफ्नो गुजारा सामाजिक सुरक्षा भत्ता स्वरुप पाएको पैसाले खाद्यान्नको जोहो गर्छिन भने कहिले उनकै कान्छी छोरीले दिएको सामलले गर्जो टार्छिन् । ऐलानी जमिनमा बनेको खरले छाएको चुहिने छानो र माटोको घर उनको एकान्तको साथी हो । उनको घरमा न त शौचालय छ न त खानेपानीको धारा नै । हावा चल्दा वा पानी पर्दा उनी छिमेकमा बस्न जान्छिन् । किनभने उनको पुरानो र थोत्रो घरले घाम छेके पनि पानीबाट बचाउन सक्दैन ।

बर्दिया बढैयाताल–६ जितपुर ६० वर्षिया धनसरा परियार शाररिक रुपले अशक्त महिला हुन । करिब दुई वर्षअघि उच्च रक्तचापका कारण आधा शरिर नचल्ने भई घरमै थलिएर बसेकी छन् । आफु सक्षम हुँदासम्म श्रीमान, छोराबुहारी, छोरी र नाती परिवारको सदस्यको रुपमा भए पनि उनी अशक्त हुने वित्तिकै सबैले एक एक गर्दै छाडेर गए उनको हेरचाह र स्याहार सुसार गर्ने जिम्मा लिईन उनकै एकमात्र छोरीले ।

कान राम्ररी नसुन्ने उनी प्राय हाँसी मात्र रहन्छिन । उनी खुशी भएर हाँसेकी भने होईनन, उनको रोगका कारण उनलाई यस्तो बनाएको हो । आफु अशक्त र आधा शरिर नचल्ने विरामी भएर थलिदा संगै जीवन जिउने कसम खाएका धनसराका श्रीमान उनलाई मुढो जस्तै ढलेकै अवस्थामा अर्कै घरजम गरेर नेपालगञ्ज तिर बसे, बैदेशिक रोजगारमा रहेका छोरा बुहारी पनि आ–आफ्नो बाटो लागे । उनीहरु काँहा छन अत्तोपत्तो छैन । रोगले थलिएको शरिरलाई उनकै छोरीको अथाह मेहनत र सेवाको कारण उठेर बस्न सक्ने भएकी छन् ।

धासरासंग सम्पत्तीको नाममा बसेको घर छ । त्यो पनि अर्कैको नाममा आमा छोरीलाई जग्गाधनीले कहिले उठाउने हो थाहा छैन । काम गर्न नसक्ने अवस्थाकी आमाको रेखदेख उपचार र पालन पोषणको जिम्मेवारी २२ वर्षिया छोरीको काँधमा छ । स्थानीय शारदा माविमा मैनापोखरमा कक्षा १२ मा अध्ययनरत उनी विद्यालयको पढाईसंगै ज्याला मजदुरी गरी आमाछोरीको ज्यान पालेको धनसरा बताउछिन् । उनले कोरोनाको कारण झनै आफुहरु प्रभावित भएको बताईन ।

उनले छोरीलाई रोजगारीमा लगाई दिन आग्रह गरिन । ‘छोरीले १२ कक्षासम्म पढेकी छ । छोरीलाई कतै रोजगारी भयो भने नियमित पैसा आउने थियो । सधै राहत पनि पाईदैन धेरै आस गर्न पनि हुँदैन, छोरीलाई रोजगारी भयो भने मलाई पनि सजिलो हुने थियो’–उनले आफ्नो पिरलो पोखिन । श्रीमान भएको कारण उनले एकल महिला भत्ता पनि पाउदिनन । उनी सामाजिक सुरक्षा भत्ता पनि पउने उमेरकी भएकी छैनन् । आउने फागुणपछि जेष्ठ नागरिक र शाररिक अपाङ्गता परिचय पत्र बनाउनको लागि वडामा बोलाएको बताईन ।

बर्दिया बढैयाताल गाउपालिका वडानं. ८ मुनालबस्ती की ५४ वर्षिया धनकुमारी नेपाली एकल महिला हुन । दुई छोरा एक छोरी, एक बुहारी र आफु गरी ५ जनाको परिवार भए पनि उनीसंग साथमा कक्षा ६ मा पढ्ने सानी छोरी मात्रै छन् । सम्पत्तिको नाममा उनीसंग संगोलको एक छाप्रो मात्र छ । त्यो पनि दुई वर्ष अघि श्रीमानको मृत्यु भएपछि उनीहरुको नाममा नामसारी हुन सकेको छैन । अंशियारको रुपमा देवर छन । तर, नामसारी गर्दा लाग्ने दस्तुर तिर्ने पैसा अभाव हुँदा नामसारी गर्न नसकेको उनको भनाई छ ।

सामान्य सिरक डसना तग्ने काम गरेर जीवन गुजारा गर्ने गरेकी धनकुमारीलाई दैनिक जसो नियमित काम पाउन अत्यन्तै सकस छ । काम पाईहाले पनि कठिन काम अनुसारको उचित ज्याला नपाउने भएकोले आमाछोरीको ज्यान पाल्नै धौ–धौ हुने गरेको छ । त्यसमा पनि कोभिडको कारण सबै ठप्प भएपछि उनीहरुको विचल्ली नै भएको उनको भनाई छ ।


काम पाउन कठिन भएको अवस्थामा कोरोना माहामारी आएपछि झनै असहज अवस्थाबाट गुज्रीनु परेको उनले बताईन । ‘आफुले जानेको सिप सिरक तग्ने हो । कपासको काम गर्दा सियो तान्दा हातका औला झर्ने जस्तो दुख्ने र दम बढ्ेर काम गर्न असहज हुँदा दिनकै काम पाउन पनि कठिन पाए पनि काम गर्न नसक्ने अवस्थामा पुगेको बताउछिन ।

उनले घरको पुनः निर्माणका लागि खर काट्न पनि जान नसकेको बताईन । घर देखाउदै उनले भनिन–‘पानी पर्ने वित्तिकै छानो चुहिन्छ । खर काट्न जान पनि सक्दिन कोही मनकारी भेटिए छानो छाउने टिनको आवश्यक छ । घरको अवस्था नाजुक भएकोले कमाउने उमेरका छोराहरु २ वर्षदेखि सम्पर्कमा छैनन । काठमाडौ तिर छन भन्ने सुनेकी छु ।’

धनकुमारीले घरमा परेको सानोतिनो गर्जो सामाजिक सुरक्षा भत्ताबाट टार्ने गरेको बताईन । उनले पाउने एकल महिला भत्ताले पनि अलिअलि खर्च धानेको बताउछिन । उमेरले नेटो काट्दै जाँदा शरिरले पनि त्यति साथ नदिने भएकोले उनलाई अब थोरै पैसा आउने भए पनि सानो व्यावसाय गर्नपाए हुनेथियो भन्ने मनमा रहेको बताउछिन । उनी भन्छिन–‘ सानो लगानीे गरी सानो तिनो व्यवसाय गर्ने मन छ । तर, हातमा सुको बचत छैन ।’ उनी सानो तिनो पसल सञ्चालन गरी आफ्नो गुजारा चलाउने सोचमा रहेको मनको कुरा बताईन ।

माथीका जुठीमाया, धनशरा र धनमाया त प्रतिनिधि पात्र मात्र हुन । उनीहरु जस्ता थुप्रैको समस्या र वेथाको पहाड नै छ । त्यसमा पनि कोभिडको कारण सबै ठप्प हँुदा उनीहरु जस्ता धेरैको अवस्था नाजुक हुँदै संघर्षसंग पौठेजोरी खेल्दै दिन गुजारेका उनीहरु कोभिड–१९ को प्रकोपको कारण झनै अफ्ठरोमा परेको बताउछन ।

दैनिक ज्याला मजदुरी गर्न उमेरले नसक्ने अवस्थामा पुगेका उनीहरुलाई अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा केयर नेपालसंगको सहकार्यमा बि–ग्रुपद्वारा बढैयाताल गाउपालिका बर्दियाको समन्वयमा कोभिड–१९ आपतकालिन प्रतिकार्य पूर्णलाभ परियोजनाले उपलब्ध गराएको स–सानो खाद्यान्न सहयोगले उनलाई ठूलो मद्दत पुगेको बताउछन ।

‘आफु काम गर्न सक्दिन कोरोनाको कारण हिडडुल गर्न पनि बन्द थियो बृद्ध भत्ता पनि बुझेकी थिएन यस्तो बेलामा चामल, दाल, नून, तेल, चिनि, सावुनजस्ता सामानहरु राहतमा पाए यसले ठूलो मद्दत गर्यो’–जुठीमायो आफ्नो खुशी ब्यक्त गर्दै भनिन–‘दशै अघि राहत स्वरुप पाएको खाद्यान्न अब सकिनै आँटेको छ । राहतको खाद्यान्न सकिएपछि अब के खाने भन्ने पिरलो फेरी बढ्न थालेको छ ।’ जुठीमायाको जस्तै धनसरा र धनिमायाको समस्या पनि उस्तै छ ।

उनले बि–ग्रुपलाई धन्यबाद दिदै कोरोना महामारीको बेलामा लकडाउन हुँदा आफु जस्ता विपन्न तथा साहारा बिहीनलाई खाद्यान्न तथा तत्काल आवश्यक पर्ने राहात उपलब्ध गराएर ठूलो गुण लगाएको बताईन । उनले खानेपानीकोे धारो, शौचालय र घर मर्मत गर्ने मनकारी हृदय भएकाहरुको सहयोगको अपेक्षामा रहेको बताईन ।

जुठीमाया, धनशरा र धनमाया जस्ता लाभग्रहीलाई अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा केयर नेपालसंगको सहकार्यमा बि–ग्रुपद्वारा बढैयाताल गाउपालिका बर्दियाको समन्वयमा कोभिड–१९ आपतकालिन प्रतिकार्य पूर्णलाभ परियोजनाले ठूलो मद्दत पुराएको छ । उनीहरु जस्ताको लागि अझ थप राहत प्याकेज उपलब्ध गराउन आवश्यक छ ।

यसैबीच बि–गु्रपका परियोजना संयोगक दुर्गा पन्थीले अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा केयर नेपालसंगको सहकार्यमा बि–ग्रुपद्वारा बढैयाताल गाउँपालिका बर्दियाको समन्वयमा कोभिड–१९ आपतकालिन प्रतिकार्य पूर्णलाभ परियोजना अन्तरगत २ सय ५० जना प्रभावितलाई १० हजार १ सय ९५ मूल्य बराबरको खाद्यान्न उपलब्ध गराएको बताईन ।

उनले पालिकाको स्वास्थ्य अवस्थालाई सुदृढ बनाउनको लागि पनि परियोजनाले ठूलो मात्रामा स्वास्थ्य सामाग्री, आवश्यक उपकरण र स्वास्थ्यकर्मीका लागि आवश्यक तालिम समेतको व्यवस्था गर्दै आएको बताईन । उनले भनिन–‘ कोभिडको भयावह अवस्थामा परियोजना सञ्चालन गर्नको लागि पालिकामा जाँदा आवश्यकताको आधारमा परियोजनाले सहयोग गर्दै आएको छ । यसले दुबैलाई राम्रो नतिजा दिन सफल भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारी बाँकेको सपथग्रहण तथा पदभार सम्पन्न

१५ माघ २०७८, शनिबार १९:०६
नेपालगञ्ज :  प्रेस चौतारी बाँकेको नव निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदभार शनिबार सम्पन्न भएको छ । गत पुस २८ गते सम्पन्न भएको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शनिबार पदभार गराईएको हो । पुस २८ गते नेपालगञ्जमा सम्पन्न जिल्ला अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा २७ सास्यीय कार्यसमिति सर्वसम्मत गरेको […]

सम्बन्धित