नेपालगञ्ज : मानवीय संकटसँग जुधिरहेको मुलुक अफगानिस्तानलाई मानवीय सहयोग गर्न नेपाली टोली आइतवार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार आइतवार बिहान हिमालयन एयरलाइन्सको चार्टर बिमानबाट परराष्ट्रको टोली त्यसतर्फ जान लागेको हो ।
नेपाली टोली काबुल पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गरेर टोलीलाई काबुलतर्फ पठाउने कार्यक्रम छ ।
सार्क अध्यक्ष नेपालले सदस्य राष्ट्र अफगानिस्तानलाई सहयोग गर्न लागेको हो । अफगानिस्तानमा पछिल्लो समय मानवीय संकट सिर्जना भएकाले राष्ट्रसंघले सघाउन सदस्य मुलुकहरुलाई आग्रह गरेका थिए ।
महासचिव एन्टोनियो गुटरेसले मानवीय सहयोगका लागि आह्वान गर्नु भएको थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमले अफगानिस्तानको ठूलो जनसंख्या शिक्षा, स्वास्थ्य र खाद्यान्नबाट बञ्चित हुनसक्ने विवरणहरु उपलब्ध गराउँदै आएका छन् ।