पश्चिम तराईका जिल्लामा माघीको रौनक शुरु

सदरलाइन संवाददाता २७ पुष २०७८, मंगलवार १२:३७
 

नेपालगञ्ज : माघी नजिकिँदै आएको छ । केही दिनमात्र बाँकी रहँदा पश्चिम तराईका बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत थारु बस्तीमा माघीको तयारी शुरु भएको छ ।

थारुहरुको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् । थारु समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार पार्न व्यस्त छन् ।

थारु समुदायले माघीलाई विशेष पर्वको रूपमा लिने गर्दछन् । माघीकै अवसरमा अर्थात् माघे संक्रान्तिको दिन थारु समुदायमा महत्त्वपूर्ण निर्णय गर्ने गरिन्छ । पुरुष माघीका लागि मासुको जोहो गर्न जुटेका छन् ।


अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारु युवतीलाई भ्याइ–नभ्याई छ ।

करिब एक हप्तासम्म मनाइने माघी पर्व अन्तर्गत थारु समुदायले विभिन्न क्रियाकलाप गरी मनाउँछन् । नयाँ वर्षको रूपमा मनाउने यो पर्वमा थारु समुदायले सद्भाव तथा आत्मिक प्रतीकको रूपमासमेत लिने गरेको बाँके राप्तीसोनारी गाउँपालिका ७ का वडाअध्यक्ष रामलखन थारुले बताए ।

माघीकै लागि खानपिनको जोहो केही दिनअघि नै गर्नुपर्ने भएकाले धान कुटाउने, ढिक्री खान पिठो पिसाउने, मासुको लागि योजना बनाउने, नयाँ कपडा किन्ने, घर आँगन सरसफाइ तथा लिपपोत गर्ने, नाचगानका लागि बाजागाजा तयारी गर्ने काम भइरहेको उनको भनाइ छ । थारु बस्तीहरुमा नाँचगानको रौनकता समेत शुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जयन्तीका अवसरमा पृथ्बी नारायणको शालिक अनावरण

२७ पुष २०७८, मंगलवार १२:३७
नेपालगञ्ज : नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै मंगलवार पृथ्वी जयन्ती मनाइँदै छ । ३०० औं पृथ्वी जयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रम गरिंदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मेका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर […]